विराटनगर-नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)को आयोजनामा नोभेम्वर ७ तारिखमा अष्ट्रियामा हुने खुल्ला भलिबल प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाउने निश्चित भएको छ । 


आगामी नोभेम्वर ७ तारिखमा अष्ट्रियामा हुने खुल्ला भलिबल प्रतियोगिताका लागि टिमको टुंगो लागेको संघका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । घमालका अनुसार द एभरेष्ट क्लब, नेपाली युथ अष्ट्रिया,  एनईएससी, एनआरएनए एलसीसी लिन्ज, साल्ब्रुग भलिबल क्लब, धौलागिरी चेक रिपब्लिक र एनएफटी म्युनिक जर्मनीले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको हो । 


एभरेष्ट क्लबबाट खिम कार्की, सुरेन्द्र प्रसाईं, गणेश थापा, झविन्द्रप्रसाद अर्याल, राजु सिलवाल, सूर्य लामा, रोशन तामाङ, प्रकाश खनाल, लक्ष्मण भुजेल र महेन्द्र ढकालले खेल्दा नेपाली युथ अष्ट्रियाबाट किरण श्रेष्ठ, गोविन्द छन्त्याल, ओमप्रकाश मगर, केडी भट्ट, लोकबहादुर श्रेष्ठ, थार भण्डारी, इन्द्र केसी सन्तोष भेटवाल र दिनेश बैदवार मैदान उत्रिनेछन् । 


टिमको म्यानेजरका रुपमा रोन्नी गुरुङ र कोचमा कुमिर घर्ती मगर रहेका छन् । नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)ले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको टिमको नामावलीअनुसार एनआरएनए एलसीसी लिन्ज, साल्ब्रुग भलिबल क्लबबाट इन्द्र छन्त्याल, सुमन विश्वकर्मा, निखिल मण्डल, अमित थापा, दीपक बस्नेत, नरबहादुर फगामी, साजन फगामी, उदय घिसिङ र यामनारायण मानन्धरले टिमको जितका लागि प्रतिस्पर्धा गर्नेछन् । 


आयोजक एनईएससीबाट अंग कामी शेर्पा, दिलकुमार घमाल, प्रेम रसाइली, रोहित सुनार, ख्याम विश्वकर्मा, एलविन हुमान, गार टेम्बा शेर्पा, राजु विश्वकर्मा र टेकराज क्षेत्रीले मैदानमा उत्रिनेछन् । 

त्यसैगरी धौलागिरी चेक रिपब्लिकबाट सुजन देवकोटा, रोशन खड्का, दीपेन्द्र साहनी, टीका महतो, सन्तोष मगर, दिलबहादुर बस्नेत, दीपेन्द्र महतो र त्रिलोकसिंह धामीले खेल्दा एनएफटी म्युनिख जर्मनी क्लबबाट अन्जल अधिकारी, सुमनजंग पाण्डे, रामकृष्ण थापा, प्रवेश पौडेल, विष्णु कोइराला, निरा गुरुङ र सागर धितालले खेल्नेछन् । 


युरोपमा बस्ने नेपालीबीच भाइचारा अभिवृद्धि र स्वास्थ्य जीवनका लागि सचेतना जगाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको तयारीसमेत अन्तिम चरणमा पुगेको संघका सल्लाहकार अंग शेर्पाले जानकारी दिए । प्रतियोगिताको विजेताले १ हजार युरोसहित प्रमाणपत्र, मेडल र ट्रफी तथा उपविजेताले ३ सय युरोका साथै प्रमाणपत्र, मेडलसहित ट्रफी पाउनेछन् । 


प्रतियोगिताका तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष घमालले बताए । “पहिलोपटक भएकाले सानातिना केही कमीकमजोरी होला तर प्रतियोगितालाई भव्य बनाउन हामीले कुनै कसर बाँकी राखेका छैनौं,” घमालले थपे, “युरोपका विभिन्न ठाउँबाट हामीलाई हौसला प्राप्त भइरहेको छ ।”