विराटनगर-कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अध्यादेश मार्फत आफुलाई समर्थन गर्ने दलका नेताहरुलाई गाडी सुविधा दिने उद्येश्यले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सम्बन्धी ऐन २०७५ संशोधन गरेपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असन्तुष्टी ब्यक्त गरेका छन । 

कोइरालाले मुलुक आर्थिक रुपमा संकटमा रहेको बेला जनताका आधारभूत कुराहरुमा ध्यान दिनुपर्नेमा दलका नेतालाई खुसी पार्न विलासिताका बस्तुमा प्रदेश सरकारले गर्न लागेको लगानीको कुराले आफूलाई दुख लागेको बताएका छन । सांसदलाई भौतिक सुविधा थप्ने कुरा अहिलेको परिस्थितिमा उपयुक्त नभएको बताउदै डा.कोइरालाले इकोनोमिक क्राइसिस संगै अहिले इकोनोमिक क्राइम पनि बढिरहेको बताए । 

IMG_4941

प्रदेश सरकारले ‘सरकारमा सहभागी रहेका दलहरूका संसदीय दलका नेतासमेतलाई पदाधिकारी सम्झनुपर्छ’ भन्ने थप व्यवस्था गरेर अध्यादेश जारी गरेको हो । कोशी प्रदेशको यसअघिकै ‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५’ को दफा २ को खण्ड (ख) संशोधन गर्न कार्की नेतृत्वको सरकारले अध्यादेश ल्याएको हो ।

संशोधन गरिएको उक्त खण्डमा पहिलेको व्यवस्थाको सट्टामा ‘पदाधिकारी भन्नाले सभामुख, उपसभामुख, प्रदेश सभाको बहालवाला सदस्य रहेको पूर्वमुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, प्रतिपक्ष दलको नेता, सरकारमा सहभागी दलहरूका संसदीय दलका नेता, सत्तापक्ष दलको सचेतक र प्रदेश सभाका समितिका सभापतिसमेतलाई सम्झनुपर्छ’ भन्ने उल्लेख छ । यो अध्यादेश जारी भएपछि प्रदेश सभामा रहेका राजनीतिक दलका संसदीय दलका नेतालगायतकालाई गाडीसहितको सुविधा दिन बाटो खुल्छ । 

IMG_4951

समुदायमा कांगे्रस अभियान अन्तरगत विराटनगर महानगरपालिका ७ को हरियाली पार्कमा आयोजित कार्यक्रममा स्थानिय टोलवासीहरुको गुनासो सुनेपछि त्यसको सम्बोधन गर्दै कोइरालाले सिंघिया खोलाको बाढी नियन्त्रण गर्न प्रदेश सरकारले अस्थायी तटबन्धको व्यवस्था गर्ने र सिंघिया करिडोरको निर्माणपछि बाढीको स्थायी समाधान हुने उल्लेख गरे । 

खानेपनी समस्याको समाधानका लागि जाईकाले महानगरसंग सम्झौता गर्ने र त्यसबाटै खानेपानीको समस्या समाधान हुने बताउदै कोइरालाले लोकतन्त्रमा मात्रै विकास सम्भव भएको बताए । नेताहरुलाई लोकतन्त्र आएपनि जनतालाई लोकतन्त्र नआएको बताउदै उनले मुलुकमा बढीरहेको अराजकताले जनताको आवश्यकता पूर्तिमा बाधा सृजना गरेको उल्लेख गरे । 


हरियाली पार्कमा बृक्षा रोपण कार्यक्रम समेत आयोजना गरिएको थियो । डा.कोइरालालाई वडा ७ का स्थानिय सीता दाहाल, सावित्री ढकाल, मिलन नौलखा, अनिल साह, तुलसीराम गड्तौला, अनिल ठाकुर लगायतले प्रश्न गरेका थिए ।