विराटनगर–राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशममा सम्मानजनक रोजगारी र आम्दानीको सृजना नहुँदा सारा जनशक्ति विदेशिएर गाउँघर रित्तिदै गएकोमा चिन्ता व्याक्त गर्दै यो स्थितिलाई रोक्नकालागि स्वदेशी कृषि, वन र खनिजमा आधारित उद्योगहरूको व्यापक विस्तार गरी विदेशी ठूला कम्पनीहरूसंग सहकार्य गरेर रोजगारीका अवसर सृजनागर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

उद्योग परिसंघ कोशीले शनिवार आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विकसित देशहरूबाट उद्योग धन्दाल्यायी स्वदेशकै जनशक्तिलाई तालिम उपलब्ध गराउने तथा दक्ष, अर्धदक्ष जनशक्ति निर्माण गरी रोजगारी समस्या समाधान गर्ने अवसरको नेतृत्व लिन उद्योगपति र व्यापारीलाई आग्रह गरे ।

मुलुकमा कृषि क्षेत्रको रुपान्तरण  र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि र रोजगारी सृजनागर्न, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरिबी निवारण गरी आर्थिक विकास गर्न सरकार एक्लैले सक्ने स्थिति छैन । पौडेलले भने त्यसैले निजी क्षेत्रसंग सरकारले साझेदारी गरेमा मात्र यो सम्भव छ । 


सार्वजनिक निजी साझेदारीलाई थप व्यापक र प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले कुल लगानीमा दुई तिहाईभन्दा बढी लगानीभएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरुको समिक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी रहेको राष्ट्रपतिको भनाई थियो । 


कोशीप्रदेश नेपालको उद्योग व्यवसायको धरोहर हो ।  आज स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकता र संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थ व्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको  महत्वपूर्ण भूमिका रहेको पौडेलले वताए । 

कोभिड–१९ महामारीको प्रभाव स्वरूप अर्थतन्त्र शिथिलभएको अवस्थामा पनिपुनरुत्थान गर्न सरकारले चालेका कदमले केही सकारात्मक प्रभाव आवश्य परेकै छ । तर जसरी आन्तरिक अर्थतन्त्र चलायमान हुनपर्ने हो त्यसरी हुन सकिरहेको छैन । फलस्वरूप रोजगारी सृजना लगायत आन्तरिक उत्पादनमा वृद्धि भई निर्यात बढ्न सकेको छैन, पौडेलले भने राजश्वको लक्ष्यपनि प्राप्त गर्न गाह्रो परिरहेको छ । उद्योगधन्धा पूर्ण क्षमतामा चल्न सकेको स्थिति छैन । यो समस्याबाट कसरी निस्कने अबको हाम्रो चिन्ता र चासो त्यता केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।

 

सरकारले अर्थतन्त्रको सुधारका लागिचालेका कदम तथा रणनीति, निजी  क्षेत्रको सहयोग स्वरूप बाह्य क्षेत्र मजबुत अवस्थामा छ । विप्रेषणको वृद्धि दर राम्रो हुनुका साथै शोधानन्तर स्थिति बचतमा रहेको छ । हाम्रो जस्तो देशको लागिविदेशी सञ्चितिको स्थितिले बढी महत्व राख्दछ । पौडेलले भने विदेशी सञ्चिति राम्रो अवस्थामा भएको हुँदा अफ्ठयारो अवस्थामा लिएका कदमहरूलाई सरकारले विस्तारै सामान्य गराउँदै लैजानुपर्दछ पौडेलले भने । जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै, वातावरण संरक्षणका साथ हरित अर्थतन्त्र र दिगो विकासकालागि संघ, प्रदेश र स्थानीय तह नीजि क्षेत्रसंगको समन्वय र सहकार्यमा अगाडि बढ्नु पर्ने उनको जोड थियो ।


उनले आफु रहेसम्म लोकतान्त्रीक गणतन्त्रमाथि कुनै आँच आउन नदिने र संविधानले दिएको भूमिका निष्ठापूर्वक पालना गर्ने वताए । कार्यक्रममा परिसंघले पौडेललाई सम्मान गरेको थियो । त्यसक्रममा पौडेलले २१ जना प्रजातन्त्रका सेनानी सहित परिसंघका सस्थापक अध्यक्ष विनोदा चौधरी र उत्कृष्ट निर्याकर्ता उद्योगी व्यवसायीमा शिवम प्लाटिक उद्योगका सञ्चालक वासुदेव गोल्यान, निखिल अग्रवाल, कवालीति आयल रिफाइनरी प्रालिका विपिन कावरा र दुई सञ्चारकर्मीलाई सम्मान गरेका थिए ।