Dil kumar ghamalदिलकुमार घमाल


नेपाली युरोपियन खेलकुद संघ (एनआइएससी)ले आफूले प्रतियोगिता मात्रै गर्दैन, अन्य ठाउँमा हुने प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएको छ । अघिल्लो वर्षको नोभेम्बर ७ तारिखमा अष्ट्रियाको जोसेफ प्रेरिस अली ३, ५०२० साल्बु्रङमा (एनआइएससी)ले खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।


युरोपमा रहेका नेपालीहरूबीच सद्भाव र भाइचारा अभिवृद्धि गराउने उद्देश्यका साथ एनआइएससीले आयोजना गरेको प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको थियो । ‘स्वास्थ्यका लागि खेलकुद, भाइचारा र सहकार्यका लागि प्रतियोगिता’ भन्ने मूल नाराका साथ स्थापित (एनआइएससी)ले नेपालीलाई भावनात्मक रुपमा जोड्ने काम गरिरहेको छ । 


खेल यस्तो क्षेत्र हो– जसले राजनीतिले विभाजित मन र मुटुलाई जोड्ने काम गर्दछ । खेलमा धनी, गरिब, जात, धर्म, लिङ्ग कुनै पनि आधारमा विभेद र विभाजित गरिँदैन । त्यही भएर पनि मलाई खेलकुद अति नै मन पर्छ । (एनआइएससी)को माध्यमबाट युरोपमा रहेका नेपालीलाई जोड्ने लक्ष्यका साथ हामीले काम गरिरहेका छौं ।


(एनआइएससी)को युरोपमा दिन प्रतिदिन चर्चा बढ्दै गएको छ । यसमा आबद्ध हुन चाहनेहरूको आकर्षण बढ्दो छ । संस्थाको अध्यक्ष भएको नाताले म अत्यन्तै हर्षित भएको छु । यो संस्थालाई यहाँसम्म ल्याइपु¥याउन जीवनमै कहिल्यै नगरेको मेहनत र संघर्ष गर्नुपरेको छ । संस्था सञ्चालनका क्रममा मैले आफ्नो व्यवसायमा पनि त्यति प्रेसर महसुस गर्नु परेको थिएन । 


एउटा संस्थालाई जीवन्त र सक्रिय बनाउन निकै नै मेहनत आवश्यक पर्दोरहेछ । जुन मैले (एनआइएससी) स्थापनादेखि हालसम्म सामना गर्नुपरेको प्रेसरबाट महसुस गरेको छ । तथापि संस्थाको नेतृत्वमा बस्दै गर्दा मलाई धेरै नै ज्ञान र अनुभव प्राप्त भएको छ । संस्था अगाडि बढाउने क्रममा आइपरेका समस्या र व्यवधानलाई मैले सहज रुपमा लिएको छु ।


मैले राम्ररी बुझेको छु कि धन सबै थोक होइन । सबैभन्दा ठूलो त स्वास्थ्य हो । यदि स्वास्थ्य ठीक भयो भने जीवनमा धन कमाउन सकिन्छ । तर धनले मात्रै स्वस्थ शरीर प्राप्त गर्न सकिँदैन । खेलकुलले स्वस्थ जीवनयापनका लागि महत्वपूर्ण भूमिका खेल्दछ । धन गुमाउँदा केही हुँदैन । तर स्वास्थ्य र चरित्र गुम्यो भने मानिस कहिल्यै माथि उठ्न सक्दैन भन्ने मलाई लाग्दछ । स्वास्थ्य र चरित्रका कारण धेरै मानिसले सत्ता, परिवार, समाजबाट अलग भएका उदाहरणहरू प्रशस्तै छन् ।


यही कुरालाई ध्यानमा राखेर हामीले (एनआइएससी) स्थापना गरेका हौं । यसमा विभिन्न साथीहरू जोडिने क्रम जारी छ । संस्थाले विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरूबीचको सम्बन्धहरूलाई प्रगाढ बनाउँदै लगेको छ । विभिन्न देशबाट प्रतियोगितामा सहभागिताका लागि निमन्त्रणा आउन थालेको छ (एनआइएससी)लाई । यो खुसीको कुरा हो ।


हालै डेनमार्कमा भएको विष्णु स्मृति कप भलिबल प्रतियोगितामा (एनआइएससी)का तर्फबाट सहभागिता जनाएर फर्किएका छौं । प्रतियोगिताबाट फर्किएपछि मनमा अनेकौं विचारहरू प्रकट भइरहेका छन् । हामी जुन उत्साह लिएर प्रतियोगितामा गएका थियौं तर फर्किंदा निराश भएर फर्किएका छौं । प्रतियोगितामा जित–हार अवश्य नै हुन्छ । 



तर प्रतियोगितामा सहभागिता जनाएका केही टिमका खेलाडी र त्यो टिमको प्रस्तुतिले भने हामीलाई अत्यन्तै दुखित तुल्याएको छ । हाम्रो टिमका होनाहार खेलाडी नारायण कार्की खेलका क्रममा घाइते हुनुभयो । उहाँ घाइते हुनु नै हाम्रो टिमका लागि दुर्भाग्य भयो । यदि उहाँ घाइते नहुनु भएको भए सायद अर्कै परिणाम पनि आउन सक्थ्यो । व्यावसायिक खेलाडीहरू सहभागिता भएको टिमसित हाम्रो टिमको प्रस्तुति सन्तोषजनक नै रह्यो । साथीहरूको मेहनतप्रति म हार्दिक धन्यवाद पनि दिन चाहन्छु ।



हाम्रो संस्था जित्नका लागि जाँदैन । हारेर पनि हामीले जितेको महसुस गरेर फर्किन्छौं । जीवनमा सधैं आशा लिएर बाँच्नुपर्छ । हाम्रो संस्थाले जहिल्यै पनि आशा र विश्वासको खेती गर्दछ । निराशाको व्यापार कहिल्यै गर्दैन । डेनमार्कमा आयोजकबाट हामीप्रति जुन सद्भाव र माया दर्शाउनु भयो त्यो नै हाम्रा लागि लाखौंको पुरस्कार बराबर हो भन्ने मैले ठानेको छु ।



विशेषगरी (एनआइएससी)ले नेपालको राष्ट्रिय खेल भलिबललाई युरोपमा प्रवद्र्धन गरिरहेको छ । हाम्रो संस्थाको नारा नै ‘स्वास्थ्यका लागि खेलकुद, भाइचारा र सहकार्यका लागि प्रतियोगिता’ रहेको छ । तर डेनमार्कमा हालै सम्पन्न त्यस्तो देखिएन ।


प्रतियोगितालाई केही टिमले आपसी सदभाव, भाइचारा र सहकार्य अभिवृद्धिका लागिभन्दा पनि जसरी पनि पुरस्कार जित्नै पर्ने रुपमा लिएको देखियो । जुन देशमा बसोबास गरेका व्यक्तिहरू छन् उनीहरूबाटै क्लब बनाउनुपर्नेमा अन्य देश (पोर्चुगल)बाट प्रोफेस्नल खेलाडी ल्याएर बाग्लुङ समाजले प्रतियोगिताको मर्म र भावनाविपरीत कार्य गरेको मैले महसुस गरें । यो कुरा अन्य देशबाट आएका साथीहरूले पनि महसुस गर्नु भएको मैले उहाँहरूसँगको सम्पर्क र सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूबाट पाएको छु ।


व्यवसायको काम छाडेर दुःख गरेर क्लब निर्माण गरी हजारौं खर्च गरेर टाढाबाट प्रतियोगितामा सहभागी भएका खेलाडीहरू यसपटकको प्रतियोगिताबाट हतोत्साहित भएका छन् । हामीले पनि चाहेको भए अन्य देशबाट प्रोफेस्नल (व्यावसायिक) खेलाडी सहभागी गराएर प्रतियोगितामा पुरस्कार जित्न सक्ने थियौं । तर हामी जति क्लबमा आबद्ध छौं त्यति नै प्रतियोगितामा सहभागी हुने गरेका छौं ।


 हामी व्यावसायिक खेलाडी पनि होइनौं । हाम्रो पहिलो पेशा भनेको व्यवसाय हो । थोरै समय बचाएर अनि व्यवसायबाट आर्जन गरेको केही पैसा खर्च गरेर राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा लागेका छौं । भविष्यमा पनि (एनआइएससी) थप बलियो बनाउँदै राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन र विकासमा सधैं लागिपर्ने प्रणसमेत गर्दछु ।


प्रतियोगितामा पुरस्कार ठूलो कुरा होइन युरोपमा रहेका नेपालीहरूबीच सम्पर्क, सहकार्य र भाइचाराको अभिवृद्धि हुनु ठूलो कुरा हो । हामीले त्यही उद्देश्य होला भनेर प्रतियोगितामा सहभागिता जनाएका थियौं । तर त्यस्तो भएन । आगामी दिनमा जुनसुकै देशमा प्रतियोगिता भए पनि आफू बसोबास गरिरहेको देशका र क्लबमा आबद्ध भएका व्यक्तिलाई मात्रै सहभागिता जनाउनु जरुरी छ । नत्र भने राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन र विकासका लागि निःस्वार्थ लागेका क्लब र व्यक्तिहरू हतोत्साहित हुने देखिन्छ ।



अन्त्यमा (एनआइएससी)का तर्फबाट प्रतियोगितामा सहभागिता जनाउनुहुने ख्याम विश्वकर्मा, रोहित विश्वकर्मा, प्रेम रसाइली, गर टेम्बा शेर्पा, अमृत तिवारी, किरण भण्डारी, राजु विश्वकर्मा, डा. किशोर कमल, विजय पल रावत, नारायण कार्की, एनआरएनए अष्ट्रियाका आइसीसी विकास कार्की, कृष्ण विश्वकर्मा, विकास रसाइली, गणेश थापा र अञ्जल अधिकारीप्रति हार्दिक आभार व्यक्त गर्दछु । (एनआइएससी)को प्रतिष्ठालाई थप उचाइमा पु¥याउन आगामी दिनमा पनि यहाँहरूको सक्रिय सहयोगको अपेक्षा गरेको छु । जय भलिबल ।


(विगत दुई दशकभन्दा लामो समयदेखिदेखि अष्ट्रियाको इन्स्ब्रुकमा पर्यटन व्यवसाय र समाजसेवामा सक्रिय लेखक नेपाली युरोपियन खेलकुद संघ (एनआइएससी)का अध्यक्ष हुन् ।)