विराटनगर–रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण चैत ६ देखि शहिद रंगशालामा हुने भएको छ । त्यसका लागि विराट गोल्डकप ट्रस्टले सोमबार विराटनगर महानगर प्रमुख नागेश कोइरालालाई प्रतियोगिताको संयोजक तोकेको छ ।

महेन्द्र गोल्डकपका नाममा २०१८ सालदेखि सञ्चालन हुँदै आएको यो प्रतियोगिता २०६२ र ६३ को राजनीतिक परिवर्तनपछि २०६७ देखि विराट गोल्डकपको नाममा सञ्चालन हुँदै आएको छ । ट्रस्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार महेन्द्र गोल्डकपका नाममा ३८औं पटक र विराट गोल्डकपका नाममा छैटौं पटक आयोजना हुन लागेको हो ।

प्रतियोगिताका सबै म्याच फ्लडलाइटमा रात्रिकालीन खेलाइने छ । त्यसका लागि शहिद मैदानमा प्रदेश सरकारको करिब ५ करोडको लागतमा शहिद मैदानमा स्थायी फ्लडलाइटको व्यवस्था गरिएको छ ।

कोरोना कहरका कारण लगातार दुईवर्ष आयोजना हुन नसकेको यो प्रतियोगिताको छैटौं सस्करण विजेताले २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार पुरस्कार पाउने प्रतियोगिताका संयोजक कोइरालाले सञ्चारकर्मीलाई बताए । पाँचौँ सस्करण विजेता एपीएफले १५ लाख र उपविजेता पञ्जाब पुलिस क्लब भारतले ७ लाख ५० हजार पुरस्कार पाएको थिए ।

प्रतियोगितामा स्वदेशी ६ र विदेश २ टिमको सहभागिता रहने बताइए पनि सहभागी टिमको नामावली र अनुमानित खर्च सार्वजनिक गरिएको छैन । संयोजक कोइरालाले सहभागी टिमको नामावली र अनुमानित खर्च पछि सार्वजनीक गर्ने बताए ।

प्रतियोगिताको पाँचौँ सस्करणमा सञ्चालन खर्च १ करोड ५४ लाख खर्च भएको तत्कालीन संयोजक मनोजविक्रम राणाले बताए । पाँचौँ संस्करणमा विराटनगर महानगरले २० लाख र प्रदेश सरकारले १५ लाख प्रतियोगितामा आर्थिक सहयोग गरेका थिए ।