विराटनगर-नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक अस्थिरता र विकाशमा भइरहेको गतिरोध अन्त्यका लागि नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्ने र यो अहिलेको परिस्थितिको आवश्यकता भएको पनि बताएका छन । 

विराटनगर विमानस्थलमा बिहिबार पत्रकारहरुसंगको कुराकानीमा डा.शेखर कोइरालाले छ महिना बर्षदिन पनि सरकार नटिक्ने र बनाइरहनु पर्ने गलत परिपाटीको विकाशले गणतन्त्र प्रतिनै जनताको अविश्वास पैदा भइरहेकाले आम जनताको चाहना अनुरुप कांग्रेस एमालेको स्थायी सरकार बन्नु पर्ने उल्लेख गरे । 

एमाले र कांग्रेस नमिल्दा मुलुकको आर्थिक विकास हुन नसकेको र मुलुक आर्थिक संकटका साथै राजनीतिक संकटमा समेत फसिरहेकाले त्यसको निकासका लागि दुवै पार्टी मिलेर पूणर्कालिन सरकार बनाउनु पर्ने र त्यसका लागि आफूले खुलेर आव्हान समेत गरेको बताए । 

तत्कालै एमाले र कांग्रेसको सरकार बन्छ त ? भन्ने जिज्ञासामा कोइरालाले‘राजनीतिमा असम्भव भन्ने नहुने र त्यसका लागि प्रतिक्षा धैर्यता गर्नुपर्ने उल्लेख गर्दै सम्भव रहेको बताए । कांग्रेसबाट आफूले पहल सुरु गरेको र अब एमालेबाट कसै न कसैले प्रयास थाल्नेमा आफू विश्वस्त रहेको उनले खुलाए । 

एमाले र कांग्रेसलाई विदेशी शक्तीले नै मिल्न नदिएकाले हरेक परिवर्तनका सहयात्री भएर पनि दुवै पार्टी मिल्न नसकेको हो भन्ने पत्रकारको जिज्ञासामा कोइरालाले‘दुवै पार्टी मिलेर सरकार बनाउने कुरामा सहमति भए बाहिरी शक्तीले केहीगर्न सक्दैनन् ।’