उमा थापा 

एथेन्स-विभिन्न मुलुक तथा नेपालबाट ग्रीस आइपुगेर ग्रीसका विभिन्न शहरमा बस्दै आएका राहदानी  हराएका, नविकरण गर्नुपर्ने, म्याद सकिएका नेपाली नागरिकहरुका लागि अब ग्रीसमै राहदानी बनाउने सुबिधा दिने नेपाली राजदूताबास भिएनाले जानकारी दिएको छ । बिहीबार एक सूचना जारी गरेर नेपाली दूतावास भिएनाले राहदानी हराएका लगाएत विभिन्न राहदानी सम्बन्धि समस्या भएका नागरिकको समस्या समाधान छिटो गरिने जानकारी दिएको छ ।

राहदानी हराएका हरुले हराएको राहदानीको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी र स्थानीय प्रहरीबाट प्रहरी रिपोर्ट पेश गर्नुपर्ने दूतावासले जनाएको छ । राहदानी बनाउन चाहिने कागजपत्र हरु सम्बन्धित ब्यक्तिले नेपाली राजदूताबास भियनामा इमेल मार्फत पठाउन पनि दूतावासले जारि गरेको सूचनामा जनाएको छ ।

राहदानी बनाउन नियमित तर्फ एकसय बीस युरो र हराएको, च्यात्तिएको वा अन्य कुनै कारणले राहदानी नस्ट भएकाहरुका लागि २४० युरो राजस्व शुल्क लाग्ने र सो रकम स्वयंम आवेदकले दूतावासले तोकेको खातामा जम्मा गर्नुपर्ने पनि  प्रष्ट पारेको छ । दूतावासले दिएको जानकारी अनुसार राहदानी नविकरण टोलि छिटै ग्रीस आउने छ । राहदानी बनाउन बायोमेट्रिक गर्न आउदा हराएको राहदानी, नागरिकता सक्कल तथा प्रहरी रिपोर्ट साथै लिएर आउनुपर्ने  छ ।

राहदानी अनलाइन आवेदनका लागि  बुकिङ स्टलहरु टोलिको भ्रमण मिति तय भएपछि खोलिने र अन्य प्रक्रियाका बारेमा राजदुतावासले अर्को सूचना प्रकाशित गर्ने भएकाले दूतावासको फेसबुक पेजबाट नियमित रूपमा सुसूचित हुन समेत राजदुतावासले अपील गरेको छ । बायोमेट्रिक हुने मिति, समय र स्थान दूतावासले अर्को सूचना मार्फत जानकारी गराउने बताएको छ ।

राहदानी बनाइदिने बहानामा दलालले ठग्न सक्ने भएकाले कोहि कसैले दलाल को बिश्वास गरेर रकम नखर्चिन दूतावास ले सबैलाई सुसूचित गरेको छ । दलालले राहदानी बनाइदिने बहानामा हजारौं रकम माग्ने, धम्याउने गरेमा संम्बधित  निकायमा उजुरी दिनसक्ने र सो प्रमाणका आधारमा कानुनी कारबाही गर्नेदूतावास ले जनाएको छ । साथै कोही कसैले मौका यहि हो भनेर नेपाली नागरिकलाई ठग्ने प्रयास नगर्न समेत दूतावास ले सचेत गराएको छ । यस्तै दूतावास ले जारी गरेको सूचना बाहेक अन्य नक्कली सूचना अथवा ब्यक्तिगत समाचार सम्प्रेषणका आधारमा कोहि नेपाली नागरिक नठगिन पनि दूतावासले सबैलाई  अनुरोध गरेको छ ।