विराटनगर–जवहरलाल नेहरु विश्वविद्यालयका पूर्व प्राध्यापक तथा भारतीय कुटनीतिज्ञ एसडी मुनीले नेपालमा राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन । विराटनगरको एलिट क्लबमा आयोजित ‘नेपाल भारत सम्बन्धका नयाँ आयामहरु’ विषयमा भएको अन्तरक्रियामा एसडी मुनीले उक्त कुरा बताएका हुन ।  

राजनीतिक प्रशंगमा मुनीले आफु राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा नरहेको बताए । उनले आफू गणतन्त्रको पक्षमा रहेको प्रष्ट्याउदै गणतन्त्र भित्र मौलाएका विकृतीलाई भने निमूल पार्नुपर्ने उल्लेख गरे । जनताको अपेक्षा अनुसार गणतनत्र चल्नुपर्नेमा उनले जोड दिए । 

गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउदै उनले सयौं बर्ष राजाले शासन गर्दा नभएको विकास अब राजा आउने वित्तिकै हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिदैन । त्यसैले गणतन्त्रमा केही समस्या भए त्यसलाई सुधार गरेर अघि बढ्नुको विकल्प छैन । 

माओवादी नेता बाबुराम भट्टराई जेएनयूका विद्यार्थी भएपनि आफ्नो शिष्य नभएको अथवा आफूले उनलाई नपढाएको बताए । बरु नेपालबारेका कतिपय बिषयमा आफूले बाबुरामलाई सोध्ने गरेको चै मुनीले खुलाए । नेपालमा आफुलाई माओवादी भनिने गरेको बारे मुनीले प्रष्टपारे ‘म कुनै वादी होइन एउटा सामान्य प्राध्यापक मात्र हुँ ।’ 

आफूले पिचएडी गर्ने बेलामा गिरिजाप्रसाद कोइरालासंग विराटनगर आएको र मात्रीका कोइरालासंग कोशी ब्यारेजको अवलोकन गर्न गएको प्रसंग जोड्दै विराटनगसंग आफ्नो पुरानो साइनो रहेको बताए । त्यो बेलामा भारतीय इन्जिनियरहरुले पुल निर्माणका क्रममा गरेको गल्तिको बारेमा मातृका कोइरालाले आफूलाई जानकारी गराएको समेत उनले स्मरण गरे । 

भारत विश्व महाशक्ती राष्ट्र बन्ने क्रममा रहेको तर उसको छिमेकी मुलुक विकासमा पछि परिरहेको सन्दर्भमा भारतले सहयोग गर्नु पर्दैन भन्ने सवालमा जवाफ दिदै मुनीले विकासमा अरुको अपेक्षा गर्नुभन्दा आफैं सक्षम हुनुपर्ने बताए । उनले न भारत न चिन कसैले पनि विकास गरिदेला भनेर आशा बस्नु हुन्न । 

कुनैपनि छिमेकीले तपाईको घर भित्र विकास ल्याएर दिदैन । भारत र चिन दुबैले आफ्नै बलले माथि उठेर विश्वको ठुला अर्थतन्त्रयुक्त मुलुक र विकाशित मुलुक बनेका हुन । त्यसैले नेपालपनि आफ्नो संभावनालाई अघि बढाएर विकासित बन्नु पर्ने धारणा उनले राखे । 

उनले नेपालको पानी सयौं बर्षदेखी निशुल्क रुपमा बगेर गंगानदी र बंगालको खाडीमा गएर वाफ बनिरहेको तर नेपालले त्यसको उपयोग गर्न नसकेको बताए । नेपालले पर्यटनमा सबैभन्दा बढी संभावना बोकेर पनि खासै प्रगती गर्न नसकेको उल्लेख गर्दै यी दुई क्षेत्रमा नेपालको भविष्य उज्वल रहेको बताए ।