विराटनगर - मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा आगामी कात्तिक ११ गतेदेखि चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक डाँगीहाट युथ क्लबले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर कात्तिक १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका बारेमा जानकारी दिएको छ ।

कोरोनाका कारण मोफसलमा खेलकुदका गतिविधी शून्यप्राय भइरहेका बेला डाँगीहाट युथ क्लबले लक्ष्मीमार्गस्थित मैदानमा गोल्डकप आयोजना गर्न लागेको हो । प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहने डाँगीहाट युथ क्लबका सल्लाहकार भाइकुमार गुरुङले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डीवाईसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुडीले प्रतियोगितामा भाग लिने छन् ।

गोल्डकपका आर्थिक समिति संयोजक राजेश बस्नेतले प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने जानकारी दिए । त्यसबाहेक प्रत्येक खेलमा म्यान अफ दी म्याचले ५ हजार ५ सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११÷११ हजार रूपैयाँ नगद पुरस्कार पाउने उनको भनाइ छ ।