विराटनगर–जोगवनी नाकाबाट नेपाल प्रवेश गर्न सक्ने हात हतियार र लागु औषध नियन्त्रणका लागि नेपाल प्रहरीको तालिम प्राप्त दुई कुकुर परिचालन गरिएका छन । बिहिबार इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक कविन राईको कमाण्डमा खटिएको टोलिले रानी र जोगवनी सीमामा आउने मानिस, सवारी साधानहरुमा कुकुरद्वारा निरिक्षण र खोज तलास गराएको छ ।
मानिसले सजिलै फेला पार्न नसक्ने वस्तुहरू तालिमप्राप्त कुकुरले सजिलै पत्ता लगाउने गरेका छन् । नेपाल प्रहरीका विशेष तालिमप्राप्त कुकुरहरूले हाल कोशी प्रदेशका भारतीय सीमा क्षेत्रमा बन्दुक, विस्फोटक पदार्थ र लागुऔषधको खोजतलासलाई तीव्र बनाएका छन् ।

विराटनगर भन्सार क्षेत्रमा बिहीबार दुईवटा कुकुर प्रयोग गरी भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूको निगरानी गरिएको थियो। सवारीसाधनमा समेत कुकुरमार्फत खोजतलास गरिएको दृश्यले आवतजावत गर्नेहरू चकित बनेका थिए। दुईमध्ये एक कुकुर लागुऔषध र अर्को बन्दुक तथा विस्फोटक पदार्थ पत्ता लगाउन विशेष दक्ष छन् ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कबिन राईका अनुसार थोरै प्रयासबाट ठूलो क्षति गराउन सक्ने तर मानिसले सजिलै नदेख्ने वस्तु कुकुरले छिट्टै फेला पार्न सक्छ। बिहीबारको निगरानीमा त्यस्ता प्रतिबन्धित वस्तु नपाइएको भए पनि लागुऔषध प्रयोग गरेर नेपाल प्रवेश गर्ने युवाहरू भने धेरै भेटिएको उनले बताए ।

मोरङका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले सीमा क्षेत्रमा मात्र नभई मानिसको भिडभाड हुने बजार क्षेत्रमा समेत यस किसिमको चेकजाँच गरिने जानकारी दिए । उनका अनुसार अपराध हुने सम्भावना बढी हुने स्थानहरूमा समय–समयमा कुकुरमार्फत निगरानी बढाइनेछ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सीमा नाकासहित प्रदेशका सबै सीमावर्ती क्षेत्रमा कुकुरमार्फत निगरानी गरिँदै आएको छ । प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष लागुऔषध कारोबारमा संलग्न धेरै व्यक्तिलाई पक्राउ गर्न सफल हुनुमा कुकुरको पनि महत्वपूर्ण भूमिका रहेको छ ।














