विराटनगर-सरकारको अर्थनीति गरिब जनतालाई लक्षित हुनुपर्नेमा अहिले नेपाली कांग्रेसबाटै अर्थमन्त्री भएका व्यक्तिहरूले समेत विपी कोइरालाको समाजवादले परिकल्पना गरेको जस्तो गरी गरिबको उत्थान गर्ने कार्यक्रम ल्याउन नसकेको प्राज्ञहरूले बताएका छन्।
वक्ताहरूले भने, "विपीले बजेट बनाउँदा भित्तामा गरिबको फोटो टाँसेर बनाउनु ताकी उनीहरूको अवस्था सुधार गर्न सकियोस्" भन्ने भनाइ आज पनि सान्दर्भिक छ। तर, सरकारले ल्याउने बजेटले गरिबलाई झन् गरिब र धनीलाई झन् धनी बनाउने प्रवृत्ति देखिएको आरोप समेत प्राज्ञहरूले लगाएका छन्।
वीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको आयोजनामा ‘विपीको प्रजातान्त्रिक समाजवादको आर्थिक अवधारणा’ विषयक अन्तरक्रिया कार्यक्रम विराटनगरको एलिट क्लबमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा वक्ताहरूले विपीको समाजवादी अवधारणालाई वर्तमान सन्दर्भमा ढाल्नुपर्ने आवश्यकता औंल्याए।
प्रा.डा. बलराम पौडेलले ‘विपीको समाजवाद र स्थानीय सरकार’ शीर्षकको २० पृष्ठ लामो संक्षिप्त अवधारणापत्र प्रस्तुत गर्दै विपीको जीवनी, प्रजातान्त्रिक समाजवादको सिद्धान्त, नेपालमा यसको सान्दर्भिकता, तथा स्थानीय सरकारद्वारा कार्यान्वयनको सम्भावनाबारे चर्चा गरे। उनले साम्यवादी र प्रजातान्त्रिक समाजवादबीचको भिन्नता स्पष्ट पार्दै, विपीले गरिब जनतालाई लक्ष्य गरी आर्थिक विकासको खाका प्रस्तुत गरेको बताए।
कोशी प्रदेशका पूर्व प्रमुख एवं प्रा.डा. गोविन्द तुम्बाहाम्फेले भने, “विपीले आफूले भोगेको समाजलाई नजिकबाट हेरेर बनाएको समाजवाद आज पनि सान्दर्भिक छ। सबै नेपालीसँग एउटा घर, एउटा दुहुनु गाई होस्; छोराछोरीले विद्यालय पढ्न पाउन, स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने परिकल्पना नै विपीको समाजवादको मर्म हो।” उनले मानव विकास र समृद्धिलाई नै आधुनिक अर्थतन्त्रको केन्द्र मान्नुपर्ने धारणा राखे।
विपीको सोचलाई तत्कालीन सामन्ती शक्तिहरूले अस्वीकार गरे पनि राजा महेन्द्रले पञ्चायती प्रणाली अघि बढाउँदा त्यही घोषणापत्रको ‘फोटोकपी’ प्रयोग गरेको इतिहास स्मरण गराउँदै तुम्बाहाम्फेले पछिल्लो पुस्ताले समेत विपीको सोचको प्रभावकारी कार्यान्वयन गर्न नसकेको बताए।
अर्थशास्त्री डा. भेषप्रसाद धमलाले भने, “विपीले गाउँ र आम मानिसलाई विकासको केन्द्रबिन्दु बनाउनु पर्छ भनेका थिए। तर, आज हामी भारतबाट चामल आयात नगरी चुल्हो बल्दैन भन्ने स्थितिमा पुगेका छौं।” उनले विकास चौंकाचौंध नभई विस्तारै स्थिर हुने प्रक्रिया हो भन्ने विपीको धारणा सम्झाउँदै गरिब र सीमान्तकृत जनतालाई केन्द्रमा राखेर मात्र मुलुकको परिवर्तन सम्भव हुने बताए।
साहित्यकार तथा प्राध्यापक दिनेश सुवेदीले प्रजातान्त्रिक समाजवादलाई समाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य विकास र समाजिक न्यायको दस्तावेज भने। उनले भने, “हाम्रो जस्तो अविकसित मुलुकमा जनतालाई केन्द्रमा राखेर विकास गरे मात्र समृद्धि सम्भव छ।” उनले वर्तमान विश्वका आधुनिक अर्थशास्त्रीहरू समेत विपीकै सोचअनुसार जनतालाई प्राथमिकता दिँदै नीति बनाइरहेको उल्लेख गरे।
प्राध्यापक कृष्ण पोखरेलले २०१५ सालमा विपीले तयार पारेको घोषणापत्र पढ्न सबैलाई आग्रह गरे। घोषणापत्रमा भूमिसुधार, बिर्ता उन्मूलन, पूर्व–पश्चिम राजमार्ग निर्माण, नेपाली रुपैयाँको प्रयोग, गाउँ फर्क अभियान लगायतका जनमुखी कार्यक्रम समावेश रहेको उनले बताए। पोखरेलले भने, “राजा महेन्द्रले लागू गरेको विकास मोडेल विपीको घोषणापत्रको फोटोकपी मात्रै हो। अहिले सामाजिक सञ्जालमा देखिने ‘जनप्रिय राजा महेन्द्र’ भन्ने धारणालाई पुनर्विचार गर्नु पर्छ।”
उनले थपे, “ग्राम विकास मन्त्रालयको गठन विपीको सोच अनुसार गाउँको विकासबिना राष्ट्रको समृद्धि सम्भव छैन भन्ने सन्देश दिनका लागि भएको हो।” उनले विपीले राजनीतिक उतारचढावका कारण आफ्नो सोच कार्यान्वयन गर्न नपाएको र वर्तमान नेतृत्वले पनि त्यही विचारप्रति बेवास्ता गरेको आरोप लगाए।
वरिष्ठ उद्योगी तथा समाजसेवी देवकीसन मुन्दडाले विपीको समाजवादी सोच अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनले नेपाली कांग्रेसको नयाँ पुस्ताले विपीको परिकल्पनालाई आधार मानेर अघि बढ्नुपर्ने सुझाब दिए।
विपी कोइराला सोसलिष्ट इन्टरनेशनलकी अध्यक्ष इन्दिरा थापाले संगठनले प्रत्येक जिल्लामा एक–एक गाउँलाई समाजवादमा केन्द्रित गरेर नमूना गाउँ बनाउने कार्ययोजना अघि बढाएको जानकारी दिइन्। उनले भनिन्, “विपीको समाजवादी अवधारणाको प्रभावकारी कार्यान्वयनबाट मात्रै मुलुक समृद्ध बन्छ।”
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला, एलिट क्लब अध्यक्ष विश्वनाथ रिजाल, प्राध्यापक कविराज न्यौपाने, प्रा.डा. टुनराज भट्टराई, भूषण ढुंगेल, बुद्धिजीवी दिनेश श्रेष्ठ लगायतले पनि पुस्तक र समाजवाद सम्बन्धी आ–आफ्ना धारणा राखेका थिए।