विराटनगर-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजनबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर–६ अन्तर्गत सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उनले पार्टीको एकता जोगाउनु नै आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे।


प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै नेता कोइरालाले निर्वाचनमार्फत मुलुकले स्पष्ट राजनीतिक निकास पाउने विश्वास व्यक्त गरे । विशेष महाधिवेशनमा सहभागिता नजनाएको विषयमा प्रष्ट पार्दै उनले भने, “म विशेष महाधिवेशनमा सहभागी भएको भए पार्टी विभाजनको जोखिम हुन सक्थ्यो। पार्टी नफुटोस् भनेर मैले बीचको बाटो रोजें ।”


विशेष महाधिवेशन पार्टीको आन्तरिक प्रक्रिया मात्र भएको उल्लेख गर्दै उनले अहिले त्यस विषयमा विवाद गर्नुको औचित्य नभएको बताए । “आज डा. डिला संग्रौला र म एउटै ठाउँमा छौं, निर्वाचनको यात्रामा सँगै हिँडिरहेका छौं । त्यसैले महाधिवेशनको विषय यहीँ टुंगिएको छ,” उनले भने ।


जेन–जी आन्दोलन अघि संसदमा रहँदा आफू नीति निर्माण, सुशासन र जनताको जीवन सहज बनाउने काममा केन्द्रित रहेको नेता कोइरालाले बताए। “सांसदको हैसियतमा संसदभित्र र बाहिर भ्रष्टाचारविरुद्ध आवाज उठाएँ र सुशासनका लागि निरन्तर संघर्ष गरें,” उनले स्मरण गरे।


मोरङ–६ का जनताको शिर राष्ट्रिय राजनीतिमा झुक्न नदिएको दाबी गर्दै उनले पार्टी फुटाएर होइन, एकताबद्ध बनाएर अघि बढ्नु नै वर्तमान अवस्थामा सबैभन्दा उपयुक्त विकल्प भएको बताए। पार्टीलाई एकढिक्का बनाएर निर्वाचनमा लैजाने जिम्मेवारी नेतृत्वको भएको उल्लेख गर्दै उनले त्यसकै लागि आफूले मध्यम मार्ग अपनाएको बताए।


कार्यकर्ता भेटघाटका क्रममा नेता कोइरालाले विगतमा पार्टीभित्र भएका कमजोरी स्वीकार गर्दै अब सबै निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले आगामी निर्वाचनले मुलुकलाई निकास दिने भन्दै कांग्रेसलाई जिताउन सबै नेता–कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने आग्रह गरे।