काठमाडाैँ सरकारले फलामे छडमा लाग्दै आएको अन्तःशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पञ्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो । 

सङ्घले आज एक विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध उद्योगलाई प्रतिकिलो रु चार मूल्य घटाउन निर्देशन दिएको हो । बजेटमा नै भन्सारसँगै अन्तःशुल्कमा छुट भएपछि सरकारलाई बुझाउनुपर्ने राजस्व रकम उपभोक्तालाई छुट दिने तयारी भएको सङ्घका अध्यक्ष साहिल अग्रवालले जानकारी दिए । 'नेपाल सरकारले गत २५ भदौ २०७८ मा ल्याएको बजेटबाट स्पन्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्थाको यस सङ्घ स्वागत गर्दछ ।  सो व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी रु चारले घट्न जाने जानकारी गराउदछौँ”, सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“बजेटपछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चापदार्थ बिलेट तथा बिलेटको कच्चापदार्थ स्पन्ज आइरनमा १२ प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रतिकेजी रु चार घटाई फलामे छड बिक्री वितरण गर्नुहुन सम्पूर्ण उद्योगीलाई अनुरोध गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

सरकारले फलामे डण्डी बनाउन प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने पाँच प्रतिशतको भन्सार र अन्तःशुल्कमा छुट दिएको भन्दै बिलेट आयात गर्ने उद्योगी आन्दोलित बनेका छन् । सरकारले यसअघि एमएस बिलेट आयातमा प्रतिटन रु एक हजार ६५० अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर रु दुई हजार ५०० पु¥याइएको छ ।

सरकारको यस्तो व्यवस्थाले नेपालमै बिलेट बनाएर फलामे डण्डी उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन भएको तर बिलेट आयात गरी डण्डी उत्पादन गर्नेलाई समस्या भएको भन्दै केही उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।