काठमाडौं । नेपालमा अब रोवर्टबाट उपचार ! विकासोन्मुख त्यसमाथि स्वास्थ्य सेवामा पछि परेको मुलुकका नागरिकका लागि अचम्मको खबर हो । तर, मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने उद्देश्यका साथ लागि परेका विराटनगरका डा. सुनिल शर्माले काठमाडौं मेडिकल कलेजलाई सुपरस्पेशियालिटीको हव बनाउँदै नेपालमै पहिलोपल्ट रोवटिक न्यूरो सर्जरी सेवा सुरु गर्न लागेका छन् ।


गतवर्षबाट डा. शर्माको लगानी र व्यवस्थापनमा आएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले मुलुकमै पहिलोपल्ट क्रेनियल रोवर्टबाट न्यूरो सर्जरी सुरु गर्ने भएको हो । केएमसीले सार्क राष्ट्रहरुमा भारतपछि नेपालमा पहिलो पटक रोवटिक न्यूरो सर्जरी सुरु गर्न लागेको जनाएको छ ।


काठमाडौं मेडिकल कलेजले पत्रकार सम्मेलन गरी नेपालमै पहिलोपल्ट न्युरो सर्जरीमा एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टमजस्ता अत्याधुनिक उपकरणहरू खरिद गरी जडानसमेत गरिसकिएको जनाएको छ ।


केएमसीलाई सुपरस्पेशियालिटीका रुपमा विस्तार गर्न नेपालमै पहिलोपल्ट न्यूरो सेवामा अत्याधुनिक उपकरण सहितको सेवा सूचारु गर्न लागिएको अध्यक्ष डा. सुनिल शर्माले बताए । यो सेवा दक्षिण एशियामा केएमसी अगाडी भारतको बेङ्लोरमा २ वटा अस्पतालले मात्र ल्याएका छन् ।


‘दक्षिण एशियाली राष्ट्रहरुमा भारतपछि नेपालमा क्रेनियल रोवर्टबाट पहिलो पल्ट न्यूरो सर्जरी शुरु गर्दैछौं । यसले नेपालको न्यूरो सर्जरीमा क्रान्ति ल्याउने अपेक्षा गरेका छौं ।’ डा. शर्माले भने । केएमसीले कोरोना संक्रमण अगाडी नै रोवटिक सर्जरी सेवा सुरु गर्न खोजेपनि लकडाउनले उपकरणहरु ल्याउन ढिलो भएको हो ।


एस ८ स्टिल्थ सिस्टम विथ गाइड मार्फत न्यूरो सर्जरी गर्दा विरामीको मस्तिस्क तथा मेरुदण्डमा रहेका विभिन्न प्रकारका नसाहरु जोगाउन समेत सहयोग पुग्ने छ । ‘शरीरका कुनैपनि भागहरु चलाउन मस्तिस्कमा बेग्लाबेग्लै नसाहरु हुन्छन् । परम्परागत प्रविधिबाट मस्तिस्कको ट्युमर निकाल्न सर्जरी गर्दा ती नसाहरु काटिनबाट जोगाउन निक्कै चुनौति हुन्थ्यो । पुरै टाउको खोलेर शल्यक्रिया गर्नुपर्दथ्यो ।’ केएमसीका वरिष्ठ न्यूरो सर्जन डा. अमित थापाले भने-‘यो पद्दतिबाट न्यूरो शल्यक्रिया गर्दा मस्तिस्कका कुनैपनि भाग तथा नसाहरुमा नोक्सानी नपुर्याइकन ट्युमर निकाल्न सकिन्छ । भने, शल्यक्रिया गर्न सानो प्वाल पारेमात्रै पुग्छ ।’

एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टम न्यूरो सर्जरीमा कम्प्लिट प्याकेज हो । यसबाट न्यूरो सर्जरी र ढाड तथा मेरुदण्डको शल्यक्रिया गर्दा विरामीले शल्यक्रिया पछि लामो समय अस्पताल बस्ने बाध्यता समेत हटेर जान्छ ।

कुनैपनि सर्जरी गर्दा एक्युरेसी र सेफ्टी महत्वपूणर् भएको बताउँदै डा. थापाले क्रेनियल रोवर्ट टेक्नोलोजी नेपालको लागि एकदमै महत्वपूणर् रहेको जिकिर गरे । ‘सानो प्वाल पारेर मस्तिस्कको जुनसुकै भागमा रहेको ट्युमर निकाल्न सकिन्छ । शल्यक्रियामा कम समय लाग्छ, विरामीहरु छिटो डिस्चार्ज हुन्छन् ।’ डा. थापा भन्छन् ।

अहिलेसम्म सर्जनहरुले शरीरका भित्री अङगहरु खासगरी मस्तिस्क, मेरुदण्डहरुको सर्जरी गर्ने बेलामा काल्पनीक थ्रिडी बनाएर काम गर्दथे । तर, केएमसीले भित्र्याएको नेभिगेसन सिस्टमले सर्जनहरुलाई थ्रिडी मनिटरमा ट्युमर कहाँ छ, कुन नसा कहाँ छ जानकारी दिन्छ । जुन ठाउँमा ट्युमर छ सर्जनहरु थ्रिडी मनिटरको माध्यमबाट त्यहीँ पुग्न सक्छन् । ठूलो शल्यक्रिया गर्नुपर्दैन ।


यसले मस्तिस्क तथा मेरुदण्डका कुनैपनि शल्यक्रियाहरुको उपचारमा ९५ प्रतिशत सम्म एक्युरेसी हुन्छ । यसअघि अनुमानको भरमा गरिने शल्यक्रियाले ८० देखि ८५ प्रतिशत मात्रै एक्युरेसी दिने गर्दथ्यो ।


केएमसीले ल्याएको रोवर्ट विश्वव्यापी रुपमा न्यूरोलोजी विधामा उपयोग भएको आधुनिक टेक्नोलोजी युक्त हो । क्रेनियल रोवर्टले मस्तिस्कमा पाइपहरु, ट्युव्सहरुलाई जुन ठाउँमा पठाउनु पर्ने हो त्यहीँ फिक्स गरेर पुर्याउँछ । ‘यसले मस्तिस्कको भित्री भागको वायोप्सी गर्दा त्यहाँबाट कुनैपनि मासुको टुक्रा निकाल्नको लागि सहयोग पुग्छ । ट्युमर, छारे रोग, पार्किन्सन गम्भिर प्रकारका रोगहरुको उपचारमा टेवा पुग्ने छ ।’ नशा तथा मेरुदण्ड र हड्डी सम्बन्धी भित्री रोगको उपचारमा सहयोग पुग्ने डा.थापाको भनाई छ ।

केएमसीले भित्र्याएको एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ इन्ट्रा अपरेटिभ न्यूरो सिस्टम हो । यसले शल्यक्रियाको बेलामा विरामी सुतिसकेपछि उसको कुन दिमागको भागले हात चलाउँछ, कुन भागले खुट्टा चलाउँछ, कुन भागले बोलीमा असर पर्छ ती भागहरुलाई सुरक्षा प्रदान गर्न सहयोग गर्दछ ।

‘यो पद्दतिमा दिमागको कुन-कुन भागहरुले काम गर्दछन् ती भागहरुलाई बचाएर शल्यक्रिया गर्न सक्छौं ।’ पत्रकार सम्मेलनमा डा. थापाले भने । यसअघि मस्तिस्कको कुनैपनि भागको शल्यक्रिया गर्दा अन्य भागहरुमा क्षती पुग्ने संभावना धेरै हुन्थ्यो । विगतमा कतिपय शल्यक्रियाहरु गर्दा कसैको हात खुट्टा नचल्ने, कसैको बोली विग्रने गर्दथ्यो । इन्ट्रा अपरेटिभ न्यूरो सिस्टमले यो समस्याबाट छुटकारा दिएको छ ।

यो सिस्टमले स्पाइनलको शल्यक्रिया गर्दा स्क्रुहरु कहाँ कसरी गइरहेको छ, अन स्क्रिनमै देख्न सकिने भएकोले शल्यक्रिया गर्ने छेउछाउमा रहेका नशाहरु जोगाउन ठूलै सहयोग पुग्ने डा. थापाको दावी छ । केएमसीमा भित्र्याइएको नयाँ टेक्नोलोजी प्रयोग गर्दा उपचारमा ९५ प्रतिशत भन्दा बढी सफलता हात पर्ने भनिएको छ ।

केएमसीले इन्ट्रा अपरेटिभ न्यूरो सिस्टमसँगै नेभिगेटेड ड्रिल समेत भित्र्याएको छ । यो हड्डीहरुमा प्वाल पार्न प्रयोग हुने गर्दछ । यो नेभिगेसन सिस्टमसँग जोडिएकोले चिकित्सकहरुले कुनैपनि हड्डीहरुमा प्वाल पार्दा मनिटरबाटै कसरी ड्रिल भइरहेको छ थ्रिडी स्क्रिनमै हेर्न सक्छन् । यो पद्दतिले दुरविनको सहायतामा गरिने विभिन्न शल्यक्रियाहरुमा सहयोग पुग्ने बताइएको छ ।

यस्तै केएमसीले भित्र्याएको अर्को नविनतम सिस्टम हो एमआईएसएस सिस्टम । यो स्पाइनको कम्प्लेक्स सर्जरीहरुमा प्रयोग गरिन्छ । यी सबै अत्याधुनिक उपकरणहरुको प्रयोगबाट शल्यक्रिया गरेको विरामीलाई त्यहि दिनमा वेडबाट उभ्याएर हिँडाउन सकिने डा. थापाको दावी छ । ‘स्पाइन सर्जरीको विरामीलाई सबैभन्दा ठूलो डर कहिले ठिक हुन सकिन्छ, घर जान पाइन्छ भन्ने हुन्छ । अब विरामीहरुलाई शल्यक्रिया गरेको भोलीपल्टै घर पठाउन सकिन्छ ।’


केएमसीले नयाँ व्यवस्थापन आएसँगै आउँदा दिनहरुमा न्यूरो सर्जरी, युरोलोजी र साइत्रेटिकलाई एउटै सेन्टरमा राखेर एड्भान्स न्यूरो सेन्टर बनाएर काम गर्ने योजना बनाएको छ । ‘केएमसी आउने विरामीहरु न्यूरोलोजी, युरोलोजी, साइक्रेटिक डाक्टर भेट्ने भनेर आउनु पर्दैन । रोग मात्र बोकेर आउँदा हुन्छ ।’ विरामीलाई सम्बन्धीत विज्ञहरुले सिधै उपचार मात्र गर्दैनन् त्यो रोगसँग सम्बन्धीत अन्य विशेषज्ञहरुको टीम मिलेर उपचार गर्ने डा. थापाको भनाई छ ।


केएमसीमा न्यूरो सर्जन डिपार्टमेन्टमा ४ जना एमसिएच न्यूरो सर्जनहरु रहेका छन् । केएमसीको न्यूरो सर्जरीबाट अहिले सम्म ६ हजार बढीले उपचार पाइसकेका छन् । केएमसीले अमेरिकाबाट करिब १० करोडको लागतमा रोवटिक सर्जरी उपकरण ल्याएको हो । स्रोत-एक्सन खबर 


केएमसीले भित्र्याएको विश्वस्तरीय उपकरणले जटिल तथा गम्भिर प्रकारका रोगहरुको उपचारमा विदेश जानुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ ।