विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बालबालिकाहरुको लागि कार्डियोलोजि सेवा सुरु गरे यता पूर्वी नेपालका विरामीहरुलाई आकस्मिक अवस्थामा उपचारको लागि पाउनु पर्ने कष्टबाट राहत मिलेको छ । १० जना चिकित्सक सहितको कार्डियोलोजि विभागमा पेडियाट्रिक कार्डियोलोजिष्ट डा.प्रतिमा यादव संलग्न हुनु भए पछि नोवेलको कार्डियोलोजि सेवा पूर्वी नेपालका सवै उमेरका विरामीहरुको लागि भरपर्दाे गन्तव्य बनेको हो ।


केही दिन अगाडि कमल गाँउपालिका वडा नं. ५, झापाका ५ बर्षिय आहान माझीको जन्मजात मुटुको समस्याको विना शल्यक्रिया उपचार भएको छ । जाँचको क्रममा मुटुमा पनि समस्या देखिए पछि झापाकै एउटा अस्पतालबाट उनलाई नोवेल पठाइएको थियो । नोवेलमा जाँचको क्रममा उनको मुटुको महाधमनी र फोक्सो तिर जाने नशा जोडिएको अर्थात Patent Ductus Arteriosus (PDA) देखिएको थियो । डा. प्रतिमा यादव नेतृत्वको चिकित्सा टोलीले उनको विना शल्यक्रिया नशाबाट छाता जस्तो सामाग्री पठाएर उक्त नशा टालेको थियो ।
 
के हो पी. डी. ए. ?
डा. प्रतिमाका अनुसार यो एक जन्म जात मुटुको समस्या हो । गर्भमा हुँदा शिशुको मुटुमा रहेको महाधमनी र फोक्सो तिर गएको रगतको नशा बीच एउटा रगतको नशा जोडिएको हुन्छ । यो नशा शिशु आमाको पेटमा रहदा नभई नहुने नशा हो तर शिशुको जन्म भएको ७२ देखि ९० घण्टा भित्र त्यो नशा आफै बन्द हुने गर्दछ । त्यो समय सम्म पनि बन्द नभएको खण्डमा १ देखी ३ महिना सम्म लाग्न सक्छ । तर त्यो समय सम्म पनि नशा बन्द नभएमा त्यसले शिशुमा रुघामार्गी लागि रहने, निमोनिया हुने, स्तन पान गर्न नसक्ने, स्वास प्रस्वासमा समस्या आउने, खाना खाँदा निधारमा पसिना आउने, खेलकुद गर्दा अन्य स्वस्थ बालबच्चा भन्दा बढी थाक्ने वा खेलकुद गर्न नसक्ने, उमेर अनुसारको तौल नबढ्ने लक्षणहरु देखा पर्दछ । यो समस्याको उपचार नगरिएमा फोक्सोमा रक्तप्रवाहमा दवाव बढ्दै जाने हुन्छ । मुटुको कार्य प्रणालीमा नै असर पर्न जान्छ ।

पी. डी. ए. को उपचार के हो ?
पी. डी. ए. को उपचारको सम्बन्धमा डा. प्रतिमाले दिएको जानकारी अनुसार यो समस्याको दुई प्रकारको उपचार हुन्छ । एउटा शल्यक्रिया र अर्काे विना शल्यक्रिया गरिने डिभाईस क्लोजर । शल्यक्रिया गर्दा जोखिम बढी हुने, अस्पताल बसाई धेरै लाग्ने, शरिरमा शल्यक्रियाको खत बस्ने हुन्छ भने नशाबाट छाता जस्तो सामाग्री पठाई नशा टाल्ने प्रविधि पी. डी. ए. डिभाइस क्लोजर भरपर्दाे र कम खर्चिलो हुन्छ । डा. प्रतिमाका अनुसार विरामीलाई ६ देखि ८ घण्टा भोको राखेर दाहिने वा देब्रे तिघ्राको नशाबाट क्याथेटरको सहायताले छाता जस्तो सामाग्री पठाएर नशा टाल्ने गरिन्छ । यसरी टालिए पछि मुटुको चार वटा कोठाहरु आफ्नो सामान्य आकारमा आउने मुटुको कार्य सामान्य गतिमा हुन थाल्छ । यो प्रविधिबाट मुटुको धमनीको नशा टालेको भोली पल्ट विरामीलाई डिस्चार्ज गर्न मिल्ने भएकोले विरामी र विरामीको कुरुवालाई सहज हुन्छ । यो प्रविधी अहिले सम्म काठमाडौंमा मात्र रहेको र उपत्यका बाहिर पूर्वी नेपालमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा रहेको डा. प्रतिमाले जानकारी दिईन्  ।

कार्डियोलोजि विभागमा उपलव्ध उपकरणहरु र अनुभवी जनशक्तिको कारण आकस्मिक सेवा, दैनिक ओपिडि र भर्ना गरी उपचार गर्ने विरामीको संख्या उल्लेख्य मात्रामा हुने गरेको छ ।