विराटनगर–विराटनगर महानगरपालिका– १३ रानी महतो टोलका कुन्दनकुमार महतो १४ वर्ष पुगे । शारीरिक रुपमा अशक्त महतोलाई स्कुल जान मन छ तर अरुको सहाराबिना हिँडडुल गर्न सक्दैनन् । तीन चक्के बैशाखीको सहारामा हरेक दिन बेलुका  ज्योति महतोको घर पुग्छन् र निःशुल्क ट्युसन पढेर फर्कन्छन् । 

निःशुल्क ट्युसन पढ्न थालेपछि कुन्दनलाई स्कुल जाने आट आएको छ ।‘ सरस्वती पूजामा स्कुलमा नाम लेखाउने, अनि स्कुल जान्छु,’उनले भने,‘ यहाँ आएर पढ्न र लेख्न सिकेको छु ।’ 

महतो टोलमा ज्योतिले ट्युसन पढाउन थालेको सात महिना भयो । जीवन विकास लघुवित्त वित्तीय संस्थाले निःशुल्क ट्युसन सेन्टर खोलेर महतोलाई शिक्षक नियुक्त गरेपछि टोलका विपन्न परिवारका बालबालिका भेला गरेर पढाउँन थालेकी हुन् । उनीसँग ४२ जनाले बालबालिका ट्युसन पढ्छन् । 

विराटनगर १४ मा लक्ष्मण ठाकुर र विराटनगर १८ मा अमृताकुमारी साहले जीवन विकास लघुवित्त मार्फत ट्युसन पढाइरहेका छन् । विराटनगरमा मात्र नभई, लघुवित्तले ४४ वटा स्थानीय तहका ६० स्थानमा ट्युसन सेन्टर खोलेको छ, सेन्टरमा २ हजार ३२ हजार विपन्न परिवारका बालबालिका निःशुल्क पढिरहेका छन् । जसमा १ हजार ७४ छात्र र ९८४ छात्रा छन् । 

बालबालिकाको गुणस्तरीय शिक्षाको अभियानमा सहयोग गर्ने उद्देश्यले संस्थाले निःशुल्क ट्युसन सेन्टर सञ्चालन गरेको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए । 

‘शहरबजारका सम्पन्न परिवारका बालबालिका सुविधा सम्पन्न विद्यालय जान्छन्, विहान बेलुका बाबुआमाले आफ्ना छोराछोरीले गृहकार्य गरे नगरेको हेर्छन् र गराउँछन्,’ उनले भने,‘विपन्न परिवारलाई दैनिक गुजाराको बन्दोबस्त जुटाउँदै ठिक्क हुन्छ, अधिकांशले बच्चाका बारेमा चासो लिएर गृहकार्य गराउने र सिकाई कस्तो छ भनेर मापन गर्न सक्दैनन् पनि ।’ 

जीवन विकास लघुवित्तले करिब तीन वर्षअघि मोरङको डाइनिया निःशुल्क ट्युसन सेन्टर स्थापना गरेको थियो । ट्युसन सेन्टरका बारेमा प्रतिक्रिया राम्रो आएपछि अन्यत्र विस्तार गरेको हो । 

‘डाइनियामा ट्युसन सेन्टर सुरु गरेपछि रेस्पोन्स राम्रो आयो, त्यसपछि विस्तार गर्ने निर्णय गर्याैँ,’उनले भने, ‘ विद्यालयबाट आएपछि बालबालिकाले नियमित पढ्न पाएका छन्, एउटा सेन्टरमा एक जनाका लागि सामान्य रोजगारी पनि सृजना भएको छ ।’

ट्युसन पढाउनका लागि प्रत्येक सेन्टरमा एक जना शिक्षक तोकिएका छन् । एउटा सेन्टरमा न्यूनतम १५ देखि ४५ जनासम्म बालबालिका पढ्छन् । ती विद्यार्थीलाई आवश्यकताका आधारमा जीवन विकासले शैक्षिक सामाग्री पनि उपलब्ध गराइरहेको छ ।

निःशुल्क ट्युसन सेन्टरमा आउने बालबालिकाहरु नियमित स्कुल जाने र आफ्नो सन्तानको पढाई प्रति अभिभावकको चासो पनि तुलनात्मक रुपमा बढेको उनले जानकारी दिए ।