विराटनगर–बुढीगंगा गाउँ पालिका वडा नम्बर १ को निजी जमिनको बिचबाट बाटो निकाल्दा वडाध्यक्ष सोमप्रसाद काफ्लेले न जमिनको नक्सा हेरे न त जग्गा धनीसंग कुनै लिखित स्वीकृती नै लिए । तर केही जग्गा दलालको फन्दामा परेर उनले नीजि जग्गाको बिचबाट बाटो खोले । बाटो मात्रै खोलेनन उनले शहरी विकास तथा भवन निर्माण विभागबाट ६० लाख रुपैयाँ निकासी समेत गरेर बाटोको दुवैतिर आरसीसी ढलान सहितको रिटेनिङ वाल खडा गरे । माटो पुरे र ग्रावेल पनि विछ्याए ।
तर स्थानियका अनुसार यो ग्रावेल र रिटेनिङ वाल बनाउन मुस्किलले १० लाख खर्च भएको छ । बाँकी बाटोमा ग्रावेल छरेर ५० लाख रकम हिनामिना भएको छ । स्थानियले बजेट दुरुपयोग भएको बारे खोजी हुनुपर्ने बताए ।
वडाध्यक्ष समेतले आएर बाटो बनाएपछि यो सार्बजनिक जग्गा नै रहेछ भन्ने निष्कर्षमा पुगेका स्थानिय समेत त्यतिबेला जिल खाए जतिबेला उक्त जमिन साविकको टंकी सिनुवारी वडा नम्बर ३ को ‘३, ङ’ किता नम्बर ११४ र किता नम्बर ३३१ को नम्बरी निजी जमिन लिलावती यादवको रहेको खुल्यो ।
वडाध्यक्ष काफ्ले र उनका स्थानिय सहयोगी पुष्कर नेपाल र हिमलाल पाठकको मिलेमतोमा लिलावतीको जमिनको बिचबाट बाटो निकाल्ने र उक्त बाटोमा शहरी विकासको ६० लाख रुपैयाँ बजेट पारेर ग्रावेल गर्ने काम गरिएपछि यादवका आफन्त राकेश यादवले विरोध जनाएका थिए । त्यो बेलामा राकेशलाई स्थानियहरुले बाटो निकाल्न दिनै पर्छ भनेर लखेटेपछि उनले त्यसको भोलिपल्ट मात्रै आएर जमिनको पश्चिमी सीमानामा पिलर गाढेर गए ।
रोकश भन्छन‘राज्यको जुनसुकै निकायको मानिस होस, चाहे मेयर होस वा वडाध्यक्ष तर संविधानले नीजि सम्पत्तीको सुरक्षाको ग्यारेन्टी जुन गरेको छ, यो त्यसको खिलाफमा काम भएको छ ।’ वडाध्यक्ष आफैं लागेर नीजि जमिनको बिचबाट बाटो खोल्नु सम्बैधानिक अधिकारको उल्लंघन हो । मैले पटक पटक पश्चिमी सीमाबाट सधियारहरुको बिचबाट आधा आधा जमिन पर्ने गरि बाटो निकालौं भन्दा मलाई स्थानिय जग्गा दलालहरुले लखेटेर बिचबाट बाटो खोलेको राकेशले बताए ।
स्थानिय दामोदर ढकालले निजी जमिन भनेर पहिले आफूलाई थाहा नभएको तर अहिले आएर मात्रै निजी जमिनमा वडाध्यक्ष र उनका केही साथीहरुले मिलेर बाटो खोलेको थाहा भएको बताए । उनले तर अहिलेका जग्गा धनी गणेश थापाले बाटो केही पूर्व सारेर त्यतिनै चौडाबाटो बनाइदिएकोमा आफूलाई खुसी लागेको उनले बताए । उनले भने‘पहिलेको भन्दा अहिले बाटो पक्का भएको छ, हिजो वडाध्यक्षले बनाएको बाटो अर्काको जमिनमा थियो अब जग्गा धनीले नै बाटो सारेर बनाएर नेपाल सरकारको नाममा पास गरिदिएपछि हामी स्थानियलाई झन ढुक्क भएको छ ।’
निर्माण व्यवसायी राम फुँयलले आफूले पुरानो बाटो भत्काएर सोही स्थानमा नयाँ बाटो बनाउदा वडाध्यक्षको निर्देशनमा आफ्नो जेसीभी प्रहरीले तीन दिनसम्म कब्जामा लिएको उल्लेख गरे । उनले भने‘जनतालाई बाटो चाहिएको हो, हामीले बाटो दिएका छौं, तर १० लाख खर्च गरेर ६० लाख रकम हिनामिना गर्ने उपर छानबिन हुनुपर्छ र अर्काको जमिन माथि बना स्वीकृती जनताको कर तिरेको रकम खर्चगर्नेहरुमाथि पनि कारवाहि हुनुपर्छ ।’
यादवको जमिन किनेर त्यसलाई बसोवास योग्य बनाउने योजनामा लागेका गणेश थापाले जग्गा धनीलाई नै जानकारी नदिई वडाध्यक्ष र उनका स्थानिय सहयोगी पुष्कर नेपाल र हिमलाल पाठकले २२ फिटको बाटो निकालेर बाटोमा सरकारको बजेट दुरुपयोग गर्ने काम गरेको बताए । जग्गा धनीबाट आफूले जमिन किनेपछि पश्चिम तर्फबाट बाटोलाई २२ फिट पूर्व सारेर त्यहि गुणस्तरको बाटो बनाइदिएर स्थानियवासीलाई १ करोड रुपैयाँ बराबरको जमिन बाटो निशुल्क दिँदा समेत आफूलाई‘गुण्डा’को आरोप लगाउदै काम गर्न नदिई जेसीवी पक्राउ गर्ने लगायतको दुख दिएको बताए ।
कसैको पनि जमिनबाट बाटो निकाल्दा उसको लिखित स्वीकृती लिएर, उसको अनुकुल हुनेगरि बाटो निकाल्नु पर्नेमा जग्गाको पश्चिमी सिमानाबाट १५ फिट छाडेर २२ फिटको बाटो निकाल्ने र पश्चिमका सधिँयारलाई यो ऐलानी जमिनको तिमीहरु भोगचलन गर भनेर गैर कानूनी र गैर जिम्मेवार काम वडाध्यक्षले गरेकाले आफूले यो सबै प्रकृयामा अख्तियार दुरुपोयोग भएको देखेकाले अब अख्तियारमा उजुरी दिने तयारी गरेको थापाले बताए ।
थापाका अनुसार कसैको नीजी जमिनमा कब्जा गरि बाटो बनाउन राज्यको सम्पत्ती दुरुपयोग गरि भ्रष्टचार समेत भएकाले अब त्यहि कसुर अन्तरगत आफू अघि बढ्ने उनले बताए । थापाले भने‘संविधानले दिएको निजी सम्पत्तीको संरक्षणको अधिकार कुण्ठीत गर्ने काममा वडाध्यक्ष र तीनका मतियार लागेकाले आफूले भ्रष्टचार विरुद्ध अघि बढ्ने बताए ।
बुढीगंगा गाउँ पालिका वडा नम्बर १ का वडाध्यक्ष सोमप्रसाद काफ्लेले आफूले ३० बर्षदेखी त्यहिबाटो हिडेकाले जग्गाधनीसंग मौखिक स्वीकृतीमा बाटो बनाएको बताए । शहरी विकासबाट ६० लाख रुपैया ल्याएर आफूले उक्तबाटो बाहेकका अन्य बाटो पनि बनाएको उल्लेख गरे । उनले आफूहरुले कुनै भ्रष्टचार तथा अख्तियारको दुरुपयोग नगरेको बताए । बाटो तोडफेड गरिएको बिषयमा भने आफूहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताए । नीजी जमिनमा बिना कुनै स्वीकृती वडाध्यक्षले बाटो बनाउन नपाउने भन्दै स्थानियवासीको स्वीकृतीमा पुरानोबाटो भत्काएर त्यहि अर्को नयाँ बाटो बनाइएको नयाँ जग्गाधनी थापाले बताए ।