निरोज कोइराला

भोजपुर –भोजपुर उद्योग वाणिज्य सङ्घको १४औं वार्षिक साधारण सभा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष तथा महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

सभाको उद्घाटन गर्दै अध्यक्ष राउतले उद्योगी, व्यापारी तथा व्यवसायीहरूका समस्या, चुनौतीको समाधान र प्रेरणाका लागि महासङ्घले अभिभावकको भूमिका निर्वाह गर्दै आएको बताए। निजी क्षेत्रको लगानीको सुनिश्चितता, दिगोपन, सुरक्षा र निरन्तरताका लागि महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले स्थानीय उत्पादन, विशेषगरी खुकुरीजस्ता साना तथा घरेलु उद्योगको विकास र ब्रान्डिङमा जोड दिन आग्रह गरे।

अध्यक्ष राउतले प्राकृतिक प्रकोप, बाढी–पहिरो र ढुवानीका कारण हुने सम्भावित क्षति तथा प्रभावको क्षतिपूर्तिका लागि सरकारले निजी क्षेत्रलाई विशेष सहयोग गर्नुपर्ने धारणा राखे। साथै, निजी क्षेत्रको सीप, ज्ञान र रोजगार विकासमा सरकारी साझेदारी आवश्यक रहेको औंल्याए। भोजपुरलाई आफ्नो जन्मथलोको रूपमा स्मरण गर्दै उनले जिल्लाको पर्यटकीय स्थल ट्याम्केडाँडा, साल्पापोखरी र खुकुरीजस्ता चिनारीहरूलाई विश्वसामु चिनाउन उद्योग वाणिज्य सङ्घले सक्रिय भूमिका खेल्नुपर्ने बताए।

विशेष अतिथि तथा कोशी प्रदेशका पूर्व अध्यक्ष नरेन्द्र कुमार खड्काले राज्यको तीन खम्बे अर्थनीति अनुसार निजी क्षेत्रको प्रतिनिधित्व गर्ने सङ्घलाई सरकारको सारथीको रूपमा लिनुपर्ने बताए। उनले उद्योगी, व्यापारीका समस्याको पहिचान र समाधानमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

केन्द्रीय सदस्य उमेश डालमियाले पछिल्लो समय व्यापारी व्यवसायीहरू व्यवसायबाट पलायन भइरहेको उल्लेख गर्दै यसको रोकथामका लागि सङ्घ र सरकारले नेतृत्व लिनुपर्ने बताए। ब्याजदर, कर, मुद्रा तरलता र मौद्रिक नीतिका सवालमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

नेपाली कांग्रेस भोजपुरका जिल्ला सभापति एवं प्रदेश सांसद विनोद वान्तवाले व्यापारमैत्री नीति निर्माणमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताए। पर्यटन, उद्योग, कृषि, यातायात र ऊर्जाजस्ता क्षेत्रमा अपार सम्भावना भएको भोजपुरमा लगानी गर्न उनले निजी क्षेत्रलाई आह्वान गरे।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले सङ्घीय संरचना अनुसार सङ्घको कार्यक्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिँदै स्थानीय, प्रदेश र सङ्घ सरकारसँग समन्वयमा काम गर्न आग्रह गरे। साथै, नयाँ कार्य समितिले त्रिवर्षीय कार्ययोजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिए।

कोशी प्रदेश सदस्य एवं उद्योग वाणिज्य सङ्घ भोजपुरका निवर्तमान अध्यक्ष ध्रुव श्रेष्ठले आफ्नो कार्यकालमा सङ्घको भवन निर्माणदेखि कोभिड महामारी र विपद्का बेला भएको योगदानबारे उल्लेख गरे। उनले नयाँ कार्यसमितिलाई अझ प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे।

अर्का निवर्तमान अध्यक्ष डम्बर श्रेष्ठले उद्योग वाणिज्य सङ्घको हालको अवस्थासम्म पुर्याउन आफूले ६ वर्ष नेतृत्व गरेको स्मरण गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिए।

अध्यक्ष कर्ण मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य नरेन्द्र खड्का, उमेश डालमिया, गोकुल श्रेष्ठ, प्रयास कार्की, दीपक नेपाल, कोशी प्रदेश कार्यसमिति सदस्यहरू तथा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, संखुवासभा, तेह्रथुम र उदयपुरका जिल्ला एवं नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरू तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रम अघि अध्यक्ष राजेन्द्र राउतको नेतृत्वमा कोशी प्रदेश सरकारले घोषणा गरेको "पर्यटन वर्ष २०८२" सफल बनाउने अभियान अन्तर्गत भोजपुरका चखेवा, ट्याम्केडाँडा लगायत पर्यटकीय स्थानको भ्रमण गरिएको थियो।