विराटनगर–पाँचबर्ष अघिसम्म विश्वबजारमा ५५ करोडको मात्र छुर्पी निर्यात भइरहेकोमा यूरोप गत आर्थिक बर्षमा तीन अर्ब १८ करोड ४३ लाख २७ हजार बराबरको १६ लाख ४६ हजार ८ सय ८७ किलोग्राम छुर्पी निकासी भएको छ । यूरोप र अमेरिका लगायत २२ देशमा छुर्पीको निकासी हुदै आएको छ । 


कोभिड १९ को महामारीपछि विश्वबजारमा आएको आर्थिकमन्दिको मारमा परेको छुर्पी उद्योग पछिल्लो समय फेरि मौलाउन थालेको छ । विश्व बजारमा नेपाली छुर्पीको माग बढेपछि स्थानिय दुध किसान र डेरी उद्योग संचालकहरुको आम्दानी समेत बढेको छ । यूरोप र अमेरिकी मुलुकमा कुकुर र विरालोलाई खाजाको रुपमा छुर्पी दिइने गरिन्छ । नेपालको पहाडी र हिमाली क्षेत्रमा उत्पादन हुने छुर्पी यूरोप र अमेरिकी लगायतका मुलुकहरुमा निकै लोकप्रिय बनेपछि यसको माग बढीरहेको छ । 


आर्थिक बर्ष २०७७÷२०७८ मा १२ लाख ६२ हजार ९ सय ९८ किलोग्राम एक अर्ब ९६ करोड ५० लाख ४६ हजार बराबरको छुर्पी निकासी भएको थियो भने आव २०७८÷२०७९ मा १७ लाख ४४ हजार ४ सय ५१ किलोग्राम छुर्पी दुई अर्ब ९१ करोड १९ लाख ३९ हजार मूल्य बराबरको निकासी भएको छ । त्यसैगरि आव २०७९÷२०८० मा १७ लाख ८६ हजार १ सय १२ किलोग्राम तीन अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको छुर्पी निकासी भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

लकडाउनको समयमा आव २०७३÷२०७४ मा तीन लाख ७६ हजार ९ सय ९४ किलोग्राम ५४ करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको छुर्पी निकासी भएको थियो । त्यसैगरि आव २०७४÷२०७५ मा ५ लाख ७६ हजार २ सय ६१ किलोग्राम ८५ करोड ७९ लाख ३३ हजार बराबरको छुर्पी निकासी भएको थियो । 


युरोप, अमेरिका र क्यानडा लगायतका देशमा पूर्वी पहाडी जिल्लाबाट निकासी हुने छुर्पी ५४ करोडबाट बढेर तीन अर्ब १८ करोड रुपैयाँ बार्षिक निकासी हुन थालेको हो । कोरोना भाइरसको कारण युरोप लगायतका देशको बजार लकडाउनको कारण थला परेका कोशी प्रदेशका छुर्पी उद्योगहरु पुनः पूर्णरुपमा संचालनमा आएका छन । जसको कारण निकासीमा बढोत्तरी भएको नेपाल उद्योग बाणीज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताए । उनले भने‘यो सुखद पक्ष हो यसले किसानको आम्दानी बढाएको छ, दुध सडकमा फ्याक्नुपर्ने अवस्थाको अन्त्य गरेको छ ।’

 

कोशी प्रदेशका पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटालगायत पूर्वी पहाडी जिल्लामा उत्पादित छुर्पी कुकुरको खाजाको रुपमा अमेरिका, क्यानडा, युरोप, जापान, कोरिया लगायतको देशमा विक्री हुदै आएको छ । 


धाप पोखरी डेरी उद्योगका संचालक दीपक भट्टराई बार्षिक ४० हजार किलो छुर्पी अमेरिका,जापान, क्यानडा लगायतको मुलुकमा याच्यू सप्लाई कम्पनी मार्फत पठाउदै आएका छन । उनका अनुसार डेरी संचालक किसानहरुबाट किलोको एक हजारमा किनेर र आफैं पनि बनाएर किलोको १२ सय सम्ममा राजधानीका ब्यापारीलाई छुर्पी विक्री गर्दै आएका छन । छ महिना अगाडी छुर्पीको दाम किलोमा १ सय ५० रुपैयाँले कमी आएपछि अहिले छुर्पी उद्योगहरुको नाफा घटेको उनी बताउछन । नाफा कम हुनथालेपछि इलामका केही छुर्पी उद्योगहरु बन्द समेत भएका छन ।  


युरोप, अमेरिका, क्यानडा, जापान लगायतका देशमा कुकर पाल्न सौखिनहरुले कुकुरलाई हड्डी वा अन्य कृतिम बस्तुको सट्टामा फ्याट बिनाको छुर्पीदिने गर्छन । हड्डी टोक्दा कुकुरलाई मुखमा घाउ हुने र विभिन्न समस्या हुने भएकाले दाँतको कसरतका लागि छुर्पी दिने गरेका हुन । चपाउन मिल्ने साथै कुकुरले खाजाको रुपमा पनि खाने भएकाले नेपालको छुर्पी ‘डग च्यू’को रुपमा माग हुने गरेको छ । 

इलामको पूर्वी सन्दकपुर गाउँपालिका वडा नम्बर ५ जमुनाका दुध किसान प्रदीप भट्टराईले मासिक ४ सय किलो छुर्पी बनाएर बिक्री गर्दै आएका छन । उनले धाप पाखेरी डेरीलाई छुर्पी विक्री गर्छन । किलोको एक हजारको दरले छुर्पी बिक्री गर्ने उनी छुर्पीबाट र ध्यूबाट आम्दानी हुने भएकाले किसानको दुधको रकम तिर्न सहज हुने बताउछन । 


एक किलो छुर्पी उत्पादन गर्न १६ लिटर दुध चाहिने र त्यो दुधबाट ध्यू निकालेपछि मात्र छुर्पी बनाउने योग्य हुने भएकाले किसानबाट किनेको दुधको छुर्पी र ध्यू उत्पादन गरि बजारमा बिक्री गर्दै आएको बताउछन । आफ्नो पशुपालनका अतिरिक्त उनले अन्य किसानको दुध समेत किनेर छुर्पी बनाउने गर्दछन । किसानले दुध काहाँ लगेर विक्री गरौं भन्ने चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य छुर्पी उद्योगहरुका कारण भएको र किसानलाई दुध बिक्रीबाट आउने रकमले पशुपालनमा प्रोत्साहन मिलेको उनले बताए । अहिले इलाममा गाईको दुध ५० रुपैयाँ लिटर र भैंसीको दुध ८० रुपैयाँ लिटर छ । तर दुधको क्रिम लाग्ने अनुपातको आधारमा दुधको दाम घटी र बढी समेत हुन्छ । बाक्लो भैंसीको दुध छ र बढी एसएनएफ छ भने किसानले लिटरको १४० रुपैयाँसम्म मूल्य पाउछन । जसबाट किसानले राम्रो लाभ पाइरहेका छन । 


सरकारले कृर्षि उपजमा कुनै शुल्क नलाग्ने बताएपनि इलामदेखी काठमाडौं सम्मनै निकासी शुल्क तिर्नु पर्ने र अन्तराष्ट्रिय बजारमा पठाउदा समेत भन्सार लगायतको शुल्क तिर्नु परिरहेको गुनासो गरे व्यवसायीको छ । धाप पोखरी डेरीका दीपकका अनुसार बेल्जियमका किसानले समेत छुर्पी उत्पादन गर्न थालेपछि नेपाली किसान र व्यवसायीलाई चुनौति थपिने अवस्था आएको छ । सरकारले विभिन्न निकायले प्यान भ्याटको दर्ता, खाद्यको सर्टिफिकेट लगायत खोजेर बाटोमा हैरानी दिने गरेको बताउदै भट्टराईले सरकारले सहज वातावरण बनाएर कम्तिमा कोशी प्रदेशलाई खोरेत मुक्त गरेर सर्टिफिकेट दिन सके युरोपमा नेपाली छुर्पीको बजार चार दोब्बरले बढोत्तरी हुने अवस्था आउने बताए । तर सरकारको नीति तथा कार्यक्रममा मात्रै किसान र दुध किसानका लागि गुलिया कार्यक्रम आउने तर कार्यान्वयन जहिले निरासाजनक हुने उल्लेख गरे । 



कसरी बनाइन्छ छुर्पी (डग च्यु)?


डग च्यु एक प्रकारको छुर्पी नै हो । जुन तपाई हामीले खाने छुर्पी भन्दा अलिक फकर हुन्छ ।  डग च्यूमा चिल्लेको मात्रा शून्य हुनु पर्छ । कुकरलाई घ्यू बच्दैन भन्ने उखान जस्तै साच्चीनै कुकुरले घ्यू नपचाउने भएकाले छुर्पी बनाउन त्यसमा घ्यूको मात्रा पूर्णरुपमा अलग गरिन्छ । कुकुरको आहारको रूपमा अमेरिकालगायत युरोपेली मुलुकमा निकासी हुने छुर्पी बनाउदा दूधलाई फटाएर विभिन्न प्रक्रियाहरू पूरा गर्दै बनाउनुपर्ने इलाम सन्दकपुरका खेम भट्टराईले बताए । 


उनका अनुसार ‘दूध फटाएर तयार पारेको छेनालाई २४ घण्टासम्म गह्रौ वस्तुले किचेर राख्नुपर्छ । त्यसपछि सुरुमा यसलाई हावा मात्रै लाग्ने र चिसो ठाउमा राख्नुपर्छ र क्रमश तातोमा सार्दै लानुपर्छ ।’

छुर्पी बनाउने पक्रीया पछि त्यसलाई सुकाउन धुवाँ लगाउनु पर्छ । धुवाँ लाग्ने ठाउँ अथवा तलामुनि आगो फुकिन्छ र टाँडमाथि छुर्पी राखेर सुकाउने गरेको उनले बताए । यसरी एक महिना लगाएर छुर्पी सुकाइन्छ । छुर्पी सुकेपछि संकलनकर्ता मार्फत राजधानीका फर्महरुलाई बिक्री गरिन्छ ।


पछिल्लो समय १५ सेन्टिमिटर लम्बाईको ८० ग्रामदेखी ११० ग्रामसम्मको साइजलाई स्टैण्र्ड साइज मानेर माग भइरहेकाले किसानले त्यहि साइजमा उत्पादन गरिरहेका छन । पछिल्लो समय अमेरिकाबाट नै विभिन्न फ्लेवरमा माग आएकाले अहिले फिक्कलका डेरी उद्योगहरुले स्टावेरी, ब्लुवेरी, पम्पकीन र मिन्ट फ्लेवरमा छुर्पीको उत्पादन सुरु गरेका छन । साधरण छुर्पीभन्दा फ्लेवरवाला छुर्पीको किलोको तीन सय रुपैयाँसम्म मंहगो पर्छ । तर बनाउदा खेर जाने डर पनि त्यतिकै रहने भएकाले अहिले सबै डेरीले उत्पादन गरिरहेका छैनन । 



कुन–कुन देशमा हुन्छ निर्यात ?


नेपालले आर्थिक बर्ष २०८०÷२०८१ को ६ महिनाको अवधिमा २२ वटा देशमा छुर्पी निर्यात गरेको छ । त्यसमध्ये नेपाली छुर्पीको मुख्य बजार अमेरिका हो । भन्सार विभागको तथ्यांकअनुसार नेपालले ६ महिनाको अवधिमा करिब डेढ अर्बको निर्यात गर्दा अमेरिकामा मात्रै १ अर्ब २५ करोड रुपैयाँको ६ लाख ३० हजार ४९१ केजी निर्यात गरेको छ ।


अमेरिकापछि क्यानाडामा ८ करोड ६३ लाख रुपैयाँको ३८ हजार ६२७ केजी छुर्पी निर्यात गरेको छ । त्यसैगरी बेलायतमा २ करोड २८ लाख रुपैयाँको ९ हजार ७८ केजी, दक्षिण कोरियामा १ करोड ८ लाख रुपैयाँको ४ हजार ८६७ केजी, जापानमा ९२ लाख रुपैयाँको ४ हजार ८६९ केजी, हङकङमा ५९ लाख रुपैयाँको ६ हजार ९८७ केजी, ताइवानमा ४९ लाख रुपैयाँको २ हजार १३९ केजी र मेलेसियामा ४७ लाख रुपैयाँको २ हजार १४७ केजी छुर्पी निर्यात गरेको छ ।


नेपालले सिंगापुरमा ४० लाख रुपैयाँको, ग्रिसमा ३७ लाख रुपैयाँको, नेदरल्यान्डमा ३६ लाख रुपैयाँको, युएईमा २७ लाख रुपैयाँको, थाइल्यान्डमा १३ लाख रुपैयाँको, फिलिपिन्सको ११ लाख रुपैयाँको, चीनमा ६ लाख रुपैयाँको, फ्रान्समा २ लाख रुपैयाँको, न्यूजिल्यान्डमा १ लाख ६३ हजार रुपैयाँको र कतारमा १ लाख ३४ हजार रुपैयाँको छुर्पी निर्यात गरेको छ । साथै, नेपालबाट भारत, स्लोभाकिया, इटली र फिन्ल्यान्डमा पनि छुर्पी निर्यात हुने गरेको छ ।