विराटनगर-नेकपा एमाले मोरङले विराटनगर महानगर पार्टी कमिटि अध्यक्ष सागर थापा सहित तीन जनालाई पार्टीको साधरण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ । विराटनगरको मानगढ खानेपानीको निर्वाचनमा एमालेको आधिकारिक उम्मेदवारलाई हराउन एमालेबाटै अर्को उम्मेदवार खडा गरेको आरोपमा पार्टीको विधान धारा ८० को उपधारा ३ र ६ बमोजिम पार्टीको हित विपरित कार्यगरेको भन्दै तीनै जनालाई अनुशासनको कारवाहि स्वरुप पार्टीबाट निष्कासन गरिएको एमाले स्रोतले बताएको छ । 

महानगर अध्यक्ष सागर थापा सहित महानगर उपसचिव नवराज नेपाल र महानगर वडा नम्बर ३ अध्यक्ष लालमणि भट्टराईलाई शुक्रबार जिल्ला पार्टी अध्यक्ष बाबुराम कार्कीले निष्कासन गरिएको पत्र बुझाएका छन । एमाले जिल्ला कमिटि सदस्य मुकेश बुढाथोकीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

विराटनगरमा रहेको मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनमा अध्यक्ष पदको लागि राम घिमिरे आधिकारीक उम्मेदवार रहेको भन्दै एमाले मोरङले अध्यक्षका अर्का उम्मेदवार लालमणी भट्टराईसहित उनलाई समर्थन गरेको आरोपमा महानगर अध्यक्ष थापा र उपसचिब नेपालमाथि कारवाही गरेको हो ।

यसअघि जेष्ठ १८ गते बसेको एमाले मोरङको बैठकले सो प्रकरणमा छानविन गर्न जिल्ला कमिटि उपसचिब शान्ति लिम्बुको संयोजकत्वमा रविन थापा र काजीबहादुर बस्नेत सदस्य रहेन गरी समिति गठन गरेको थियो । सो समितिका सिफारिसका आधारमा तीन जनामाथि कारबाही र एक जनालाई स्पष्टीकरण सोधिएको एमाले मोरङका अध्यक्ष बावुराम कार्कीले जानकारी दिए ।

मानगढ खानेपानी आयोजनाको अध्यक्षको लागि जेठ १९ गते भएको निर्वाचनमा एमालेका कार्यकर्ताहरु घिमिरे र भट्टराई अध्यक्षको उम्मेदवार बनेका थिए । घिमिरे करिब तीन दशकदेखि खानेपानी आयोजनाको अध्यक्ष रहेका छन् भने भट्टराई एमाले विराटनगर ३ का अध्यक्ष हुन् । एमाले भित्रको विवादको कारण उपभोक्ता समितिको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । १९ गते मतदान अन्तिम चरणमा पुगेको बेला घिमिरे र भट्टराई समर्थकबीचको विवादका कारण निर्वाचन स्थगति भएको थियो भने विवादको कारण निर्वाचन समितिका सबै जनाले राजिनामा समेत दिइसकेका छन् ।

सो विषयमा उच्च अदालत विराटनगरमा समेत रिट दायर भएको छ । अदालतले निर्वान प्रक्रिया याथास्थीतिमा राख्न आदेश दिदै असार ३ गतेको लागि अर्को पेशी तोकेकोछ ।