विराटनगर–अर्थतन्त्रको अवस्था कस्तो छ भनेर हेर्न पत्रिकामा छापिने समवेदना र शुभकामना हेरे पुग्ने मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष अनुपम राठीले बताएका छन । अर्थतन्त्र यस्तरी थलियो की मानिसहरुको समवेदनामा समेत त्यसले प्रहार गरेको उनले उल्लेख गरे । 

मानिसहरु एक अर्कामा सुख र दुख साटासट गर्न पनि अनिच्छुक देखिनुले समाज भित्र मानिसमा संवेदना सकिदै गएको संकेत देखापर्न थालेकोमा उनले चिन्ता ब्यक्त गरे । राठीका अनुसार खर्च घटाउन पत्रपत्रिकामा शुभकामना र समवेदना छाप्न नै छाडेको उल्लेख गरे । शुक्रबार मोरङ उद्योग ब्यापार संघमा आयोजित पत्रकार भेटघाटमा उनले भने ‘अर्थतन्त्रको सिथिलताको असर यो भन्दा दारुण अर्काे हुन सक्दैन ।’

अर्थतन्त्र खस्कदै जाँदा मानिसभित्रको समवेदना पनि मर्दै जाने रहेछ भन्ने देखिएको र त्यसको पुष्टि पहिले पत्रपत्रिकामा पाना भरिभरि समवेदना र शुभकामना छापिने गरेकोमा अहिले आर्थिक मन्दी सुरु भएपछि त्यो घटेको र पत्रिकाको पेजपनि ७५ प्रतिशत घटेको राठीले बताए । 

morang bepar pic 2

७३ बर्षको इतिहास बोकेको मोरङ उद्योग ब्यापार संघको ३५ औं अध्यक्षको रुपमा आफू निर्वाचित भएपनि अग्रहरुले थालेको बाटोमा नै हिड्ने र अर्थतन्त्रको विकासका लागि कतै आवाज बुलन्द गर्ने र कतै हात जोड्नृु परेपनि जोड्ने राठीले बताए । यूवा अध्यक्ष राठी नाति पुस्ताका उद्योगी हुन । उनीभन्दा अघि उनको हजुरवावु आशकरण राठी २०३८ सालमा अध्यक्ष भएका थिएभने बाबु नन्दकिशोर राठी २०४९ सालमा संघको अध्यक्ष भएका थिए । 

समय सापेक्ष अनुरुप तौर तरिकाहरु फरक हुन सक्लान तर आफूले विकसित र सुखी समाज अनि समृद्ध देश नै का लागि नै लागिपर्ने बताए । हरेक बर्ष जस्तै यो बर्षपनि संघले आगामी बजेटमा समावेश गर्नका लागि सरकारलाई सुझाव दिएको र बजेटमा ती बिषय समेटिने या नसमेटिने हेर्नुपर्ने उल्लेख गरे । आउने बजेटले पनि आगमी दिनको संघको कार्यदिशा तय गर्ने उनले बताए । 

कार्यक्रममा निर्वतमान अध्यक्ष नविन रिजालले दैनिक तीन हजार भन्दा बढी विदेशीरहेको सन्दर्भमा सरकारले बाहिरिएको जनशक्तीलाई रोक्ने कार्यक्रम ल्याउनु पर्ने उल्लेख गरे । उनले तीन तहका सात हजार भन्दा बढी जनप्रतिनिधिका लागि मात्र सरकारले काम गरिरहेको तर अन्य नागरिकका लागि नसोचेको रिजालले बताए । 

morang bepar pic 1

उद्योगी व्यवसायीहरुलाई अहिले पनि बैंक तथा इन्स्योरेन्स कम्पनीहरुले कार्टेलिङ गरिरहेको बताए । बैंकहरुले ठुलालाई शुन्य दशमलव २५ प्रतिशत लिएपनि साना उद्योगीबाट ३ प्रतिशतसम्म प्रिमियम लिइरहेको बताए । उनले इन्स्योरेन्सको पनि कार्टेलिङ विरुद्ध लाग्नुपर्ने बेला आएको र अबको ब्यापार संघको निर्वाचित समिति त्यसका लागि काफि रहेको बताए । 

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष अनिल साहले पत्रकार साथीहरुको साथ र सहयोग मार्गनिर्देशन कार्यसमितिलाई सधैं चाहिरहने बताए । ब्यापार संघले थालनी गरेका हरेक कार्यक्रमहरु सफल बनाउनमा पत्रकार साथीहरुको योगदान अतुलनिय रहेको बताउदै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए ।