विराटनगर-नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ समितिको पहलमा पर्यटन व्यवसायीहरु सहितका सरोकारवालाहरुको सक्रियतामा महासंघको सचिवालयमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । मंगलबार महासंघको कार्यालयमा स्थापित सूचना केन्द्रको महासंघका केन्द्रीय सदस्य, प्रदेशका उपाध्यक्ष एवं प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले उद्घाटन गरे । 


प्रदेश १ को प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने सवै पर्यटकलाई प्रमुख गन्तव्यहरुको बारेमा जानकारी दिने, होटल र ट्राभल्स लगायतका सेवा प्रदायक निकायको सूचना विवरण अद्यावधिक राख्ने र पर्यटकहरुकै जानकारी राख्ने लगायतका काम सूचना केन्द्रबाट हुने जनाइएको छ । 


उपाध्यक्ष राउतले अहिले इलामको पशुपतिनगर र झापाको विर्तामोडमा सूचना केन्द्र स्थापना भएपनि विराटनगरको रानी नाकामा अझै पनि पर्यटन डेस्क स्थापना नभएकोले त्यो काम पनि सूचना केन्द्रमार्फत नै गरिने बताए । उनले प्रदेश १ मा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको जानकारी दिंदै हाल रहेका १६ वटा आन्तरिक विमानस्थल संचालन गर्न संघीय सरकारले पहल गर्नुपर्ने बताए । 


प्रदेश १ मा पर्यटकलाई आकर्षण गर्न आवश्यक पर्ने राम्रो होटलसहितका पर्यटन पूर्वाधारमा अझै कमी रहेको बताउदै उनले पर्यटकहरुलाई आवश्यक पर्ने यातायात सेवाको पनि उपयुक्त व्यवस्था नभएकोले तीनै तहका सरकारले पूर्वाधारमा सहयोग गर्नुपर्ने बताए । राउतले महासंघको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तरगत सूचना केन्द्र स्थापना गरिएको जानकारी दिंदै त्यसलाई प्रभावकारी रुपमा संचालन गरिने जानकारी दिए । 


महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले विराटनगर विमानस्थलमा पनि इमिग्रेशनको व्यवस्था गर्न सके पर्यटकहरुलाई सहज हुने बतए । उनलेले पर्यटन क्षेत्रलाई राज्यले ठुलो आर्थिक स्रोतका रुपमा उपयोग गर्न नसकेको बताउनु भयो । साथै प्रदेश १ मा सहासिक र धार्मिक पर्यटनको विकासको सम्भावना रहेकोले बढि ध्यान त्यसैमा दिन सरकारलाई आग्रह गरे । 


पर्यटन दिवसको अवसर पारेर नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डको सहयोगमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको महासंघका पर्यटन समितिका संयोजक भविष कुमार श्रेष्ठले जानकारी दिए । उनले १४ वटै जिल्लाका पर्यटकीय स्थलहरुको जानकारी, पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्था, सहासिक पर्यटन सम्वद्ध कम्पनीहरु, टुर गाइड, ट्राभल्स एण्ड टुर्स, होटल लगायतका जानकारीहरु सूचना केन्द्रमा रहने जानकारी दिए । 


सूचना केन्द्रमा पर्यटनसम्बन्धि जानकारी दिनसक्ने दक्ष जनशक्तिको व्यवस्था गरिने र त्यसका लागि प्रदेश सरकार अन्तरगत पर्यटन तथा संस्कृति मन्त्रालयलाई आग्रह गरिएको छ । आगामी दुई महिनाभित्र सूचना केन्द्रलाई प्रभावकारी रुपमा संचालन गर्न पर्यटन क्षेत्रसँग सम्वद्ध १६ वटा निकायहरुसँग समन्वय भइरहेको छ ।

महासंघ प्रदेश समितिका सदस्य रविन दाहालले सूचना केन्द्र स्थापनापश्चात प्रदेशको पर्यटन विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।