विराटनगर । पछिल्लो दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिएअनुसार सरदरकै आसपासमा वर्षा भएको थियो । तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ ।

शाखा प्रमुख मौसमविद् ईन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापनकेन्द्रमा अति भारी वर्षा भएको देखिएको छ । अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षा मापनकेन्द्र रहेका छन् । दुई दिनयता सबैभन्दा धेरै वर्षा नवलपुरमा भएको छ । त्यहाँको बतासास्थित वर्षा मापनकेन्द्रमा ४३४.२ मिलिमिटर वर्षा रेकर्ड भएको हो ।

सक्रिय रहेको मनसुन मत्थर हुन अझै एक साता लाग्ने भएको छ । नेपालको सिमानामै रहेको न्यून चापीय रेखा तल नझरेसम्म मौसम सुधार हुने अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुलाई र अगस्ट महिना मनसुन उच्च रूपमा सक्रिय रहने महिना हो । सोही कारण पनि अगस्ट महिनाभर र सेप्टेम्बरको पहिलो सातासम्म पनि यो वर्षको मनसुन सक्रिय नै रहने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । 

शनिबारसम्म तराईकेन्द्रित रहेको मनसुनी वर्षा अब नेपालको पूर्वी भेग र सुदूूरपश्चिम भेगमा थप सक्रिय बनेको छ । जसअनुसार अबको दुई दिन प्रदेश १ र सुदूरपश्चिम प्रदेशका विभिन्न भेगमा भारी वर्षा हुने आँकलन गरिएको हो । तराई छोएका जिल्लामा पनि वर्षा हुँदै रोकिँदै गरेर मनसुनले आफ्नो सक्रियता जनाउने भएको छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली भेगका पहाडी इलाकाको केही स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ । अबको एक सातापछि मात्र मौसममा हल्का सुधार हुँदै जाने अनुमान गरिएको छ ।