विराटनगर-वैशाकको अन्त्य र जेठको पहिलो साता प्रदेश १ मा दैनिक १२ सयमा कोरोना पोजेटिभ देखिएपनि लकडाउनको प्रभावका कारण अहिले कोरोनाको संक्रमण दर घटेर दैनिक ३ सय हाराहारीमा झरेको छ । त्यस्तै प्रदेश १४ जिल्ला मध्ये ७ जिल्लामा नयाँ संक्रमणको दर शुन्यमा झरेको छ । 


कोरोनाको संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा विस्तारै खुकुल्याउदै लगिएको छ । प्रदेश १ मा दैनिक कोरोना संक्रमितको संख्या ३ सयभन्दा कममा झरेको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारमात्र प्रदेश १ मा २५५ जना कोरोना संक्रमित थपिएका छन् ।


समाजिक विकास मन्त्रालय अन्तर्गत रहेको ‘कोभिड-१९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति’को सचिवालय संयोजक डा. रविन्द्र निरौलाले पछिल्लो समयमा संक्रमणको दर निकै संख्यामा घटेको बताए । उनले पछिल्ला १० दिनदेखि लगातार संक्रमणको दर दैनिक घटेको र संक्रमित निको हुनेको संख्या पनि उच्च रहेको बताए ।

निरौलाले जेठको पहिलो सातामा प्रदेशमा संक्रमणको दर ५२ प्रतिशत पुगेकोमा अहिले करिब २६ प्रतिशतमा झरेको बताए । यद्यपि अहिले पनि संक्रमणको जोखिम भने उत्तिकै रहने भएकाले सुरक्षित रहन आवश्यक रहेको उनको भनाइ छ ।


मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा पहाडी तथा हिमाली जिल्लामा दैनिक संक्रमित हुनेको संख्या शून्यमा झरेको छ । संखुवासभा, तेह्रथुम, इलाम, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु र खोटाङ जिल्लामा दैनिक संक्रमणको दर शून्यको अवस्थामा पुगेको हो । शनिबार र आइतबार ती जिल्लामा संक्रमणको दर शून्य रहेको मन्त्रालयले जनाएको छ ।


त्यसैगरी धनकुटामा २, भोजपुरमा १, उदयपुरमा ३, ओखलढुङ्गामा १ जना संक्रमित फेला परेका छन् । तर पहाडी जिल्लामा संक्रमणको दर शून्य र केहीमा अति न्यून रहे पनि सघन जनसंख्या रहेको तराईका मुख्यतः झापा, मोरङ र सुनसरी जिल्लामा भने अझै पनि संक्रमणको दर उल्लेख्य रुपमा कमी आउन नसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


आइतबारमात्र प्रदेश १ मा कुल २५५ जना कोरोना संक्रमित थपिएकोमा मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५ जना छन् ।


कुल ६५ हजार १७१ हजार संक्रमितमध्ये ५२ हजार ३६५ जना निको भएका छन् । हाल प्रदेशभर ११ हजार ८५० जना संक्रमित छन् । जसमा मोरङमा ४ हजार २१४, झापामा ३ हजार ५८४ र सुनसरीमा २ हजार ८८३ जना छन् । आइतबारसम्म पूर्वी पहाडी जिल्ला ओखलढुङ्गामा जम्मा एक जनामात्र संक्रमित छन् ।


कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दास दुई सातायता कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा कमी आएको बताउँछन् । उनी भन्छन्, ‘तर, जोखिम घटिसकेको छैन । संक्रमण पूरै भागेको होइन, स्वास्थ्य सावधानी भने अपनाउनै पर्छ ।’उनले समाजमा खोपको माध्यमबाट ठूलो मात्रामा हर्ड इम्युनिटी सिर्जना नगरुञ्जेल संक्रमणको उच्च जोखिम रहने बताए ।


दैनिक संक्रमणको दर ओरालो लागेसँगै अस्पतालको सघन उपचार कक्षमा बिरामीको चाप पनि घटेको छ । संक्रमणको दर उच्च रहँदा बेड अभाव झेल्नु परेकोमा अहिले कोभिड अस्पतालमा शय्याहरु धमाधम खाली हुन थालेका छन् ।


सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार सोमबार बिहानसम्म प्रदेशका सरकारी तथा निजी गरी कुल ८ वटा कोभिड विशेष अस्पतालमा सघन उपचार कक्षमा जम्मा १६८ जना बिरामी उपचाररत छन् । त्यसमध्ये आईसीयूमा १३९ र भेन्टिलेटरमा २९ जना उपचाररत छन् । प्रदेशका यी अस्पतालमा कुल आईसीयू संख्या २८६ र भेन्टिलेटरको संख्या १२९ छ । त्यसैगरी अस्पतालले सञ्चालन गरेका आइसोलेशन तथा छुट्टै रुपमा सञ्चालनमा रहेका संस्थागत आइसोलेशनमा गरी कुल ५५९ जना छन् ।


होम आइसोलेशनमा बस्नेको संख्या ११ हजार १२३ छ । कोरोनाको दोश्रो लहरको यो अवधिमा प्रदेश १ मा कोरोना संक्रमणका कारण ६२७ जनाको मृत्यु भएको छ ।