विराटनगर–ब्यापारी र उद्योगीले विश्वका कुनैपनि विकसित मुलुकमा बैंक खोल्न नपाउने नियम भएपनि नेपालमा भने उद्योगी व्यापारीले बैंक स्थापना गरेको कारण अहिले मुलुकको आर्थिक संकट गहिरिदै गरेको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बताएका छन । 

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ब्यापारी तथा उद्योगीले बैंक संचालन गर्न नहुने बताउदै विश्वका विकसित मुलुकमा उद्योगी र ब्यापारीले बैंक खोल्न नपाउने नियम भएपनि नेपालमा भने उद्योगी र ब्यापारीले बैंक खोल्न पाउने भएकाले अहिलेको आर्थिक संकट गहिरिएको उल्लेख गरे । 

बैंकहरुले अहिले लगानी योग्य रकम तरलताको अभाव नरहेको बताएपनि गरिबहरुले १० लाख ऋण लिन जादा नदिने तर त्यहि बैंकले एक अर्ब रुपैयाँ ऋण लिन जानेलाई भने तत्काल ऋण दिने गरेको बताए । बैंकहरुले समेत गरिब र धनी बिचमा विभेद गर्ने गरेकाले गरिबको जीवन स्तर माथि उठ्न नसकेको बताए । 

पँुजी गत खर्च खर्च गर्न नसकेर विकास निर्माणका कामहरु प्रभावित भइरहेको अहिलेको अवस्थामा सरकारले चालु खर्च पनि ऋण काढेर अर्थात कर्मचारीलाई तलब खुवाउन पनि एडिवि र विश्वबैंकसंग ऋण लिएर खुवाउनु परिरहेको अवस्था रहेको उल्लेख गरे । 

कोइरालाले विस्तारै सबै ठिक हुदै जान्छ भनेर सरकारमा बस्नेहरुले भनेपनि यो सरकार परिवर्तन नभएसम्म केही कुरा ठिक नहुने बताए । उनले आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य कुनैपनि क्षेत्रमा शुसासन कायम हुन नसकेकाले अहिलेको सरकारको नेतृत्व परिवर्तन पछि कुशल नेतृत्वले मात्र मुलुकमा स्थायीत्व श्रृजना गर्ने उल्लेख गरे । 

भ्रटचारीलाई कारवाही होइन भ्रष्टचारलाई छोप्न अर्काे ठुलो भ्रष्टचार सरकारले गरिरहेको आरोप कोइरालाले लगाए । उनले सुनकाण्डको अनुसन्धान र ललिता निवासको प्रकरणको अनुसन्धान काहाँ पुग्यो भनेर सरकारलाई पश्न गरे । भर्खरै सार्वजनिक भएको एनसेलको प्रकरणमा सबैको मिलिभगत रहेको बताउदै उनले सरकार, कर्मचारी, ब्यापारी मिलेर नै यो प्रकरण भएको तर अब अन्तिममा नाम भने केही ब्यापारीको मात्रै आउने र अरु सबै चोखिने काम हुने उल्लेख गरे । 

मुलुक भरिमा रहेका ६ लाख ७७ हजार सटरहरु मध्ये ४० प्रतिशत मात्र सटर खुला रहेको बाँकी बन्द रहेको अवस्था छ । यो एउटा उदाहरणले पनि मुलुकको आर्थिक अवस्था कस्तो छ र तल्लो बर्ग कसरी प्रताडित भएको छ भन्ने बुझ्न एउटा इन्डिकेटर भएको बताउदै कोइरालाले अघिल्लो बर्ष उच्च शिक्षाका लागि १ खर्ब २७ अर्ब बाहिरिएको तथ्यांक उल्लेख गर्दै मुलुक भित्रका विश्वविद्यालय र कलेजहरुले के गरिरहेका छन भनेर प्रश्न गरे । 

एकातिर आर्थिक अवस्था खस्कदै गएको कारण ग्रामीण क्षेत्रका गृहीणीले दुईवटा नभइ एउटा मात्र तरकार पकाउन थालेको बताउदै केही दिन पछि दालको सट्टा त्यहि एउटा तरकारीमा झोल हालेर भात खानुपर्ने बाध्यता आउन लागेको बताउदै जबसम्म मुलुकमा नेतालाई भ्रष्टचार गर्दा पनि उन्मुक्ती मिलिरहन्छ मुलुक आर्थिक रुपमा सवल नबन्ने नेता कोइरालाले बताए । 

मुलुक बनाउने सोच भएको नेतृत्वले मात्रै मुलुक बनाउन सक्ने बताउदै कोइरालाले कृर्षि उत्पादन बढाएर त्यसमा आधारित उद्योग स्थापनापछि देशको विकास हुदै जाने बताए । कृषिमा आधारित र आत्मनिर्भर नभइ मुलुकको अर्थतन्त्र सहिदिशामा नजाने उनको कथन छ । 

त्यस्तै विराटनगर महागरपालिकाका मेयर नागेश कोइरालाले भाषा, साहित्य, कला, संस्कृतिसहित चौतर्फी विकासले मात्रै विराटनगर समृद्ध हुने बताए । विशिष्ट अतिथिका रुपमा सम्बोधन गदैै मेयर कोइरालाले विराटनगरमा छरिएर रहेका सबै भाषा, संस्कृति, कला र साहित्यको विकासका लागि महानगरले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिए । 


प्रज्ञा प्रतिष्ठान गठनको तयारी भइरहेको बताउँदै मेयर कोइरालाले भौतिक संरचनाको विकाससँगै मानवीय सूचकांकको विकासमा आफू गम्भीर रहेको सुनाए । मेयर कोइरालाले सीमित स्रोत र साधनका बाबजुत महानगरवासीको असीमित इच्छा र चाहना परिपूर्तिका लागि लागिपरेको प्रस्ट पारे । कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ र वरिष्ठ पत्रकार आदरणीय धर्मेन्द्र झा दाइलाई नगदसहित पुरस्कृत गरिएको थियो । 


श्रेष्ठलाई ५१ हजार र झालाई २५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै वरिष्ठ साहित्यकार दधिराज सुवेदीको उपचारमा संलग्न भक्तपुर क्यान्सर अस्पतालका डा. उज्ज्वल चालिसेलाई समेत सम्मान गरिएको थियो । आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य भीम पराजुली, जयराम यादव, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मी, राप्रपाका केन्द्रीय सदस्य केदार कोइराला, प्राध्यापक कविराज न्यौपाने, विश्लेषक भेषप्रसाद धमला, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, साहित्यकार डा. मेदिनीप्रसाद शर्मा नेपाल, कवि चूडामणि नेपाल अकिञ्चन, दिङ्लाली कान्छोलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 


अग्रज पत्रकार शरदराज सुवेदी र रुपक सुवेदीले पिता दधिराज सुवेदीको नाममा प्रतिष्ठान स्थापना गरेका हुन् । १५ लाख रुपैयाँको अक्षयकोष राखेर स्थापित प्रतिष्ठानबाट यसअघि ७–७ जना साहित्यकार र पत्रकार पुरस्कृत भइसकेका छन् ।