विराटनगर–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिल्ली स्थित हैदरावाद हाउसबाट हरियो झण्डा देखाएपछि जेठ १८ मा कार्गाे लिएर आएको रेल फेरि आइसीपीमा देखा परेको छैन । 

नेपाल रेलवे अधिकारी सबै तयारी छ भनेर दावि गर्छन भने उद्योगीले आइसीपीमा कार्गाे ल्याउन पूर्वाधार नभएको दावि गर्दै आएका छन । जस्को कारण तयारी पुरा भएर उद्घाटन समेत भएको आइसीपीसम्म रेलमार्गबाट कार्गाे आउन सकेको छैन । 

उता पुरानै रुटमा रहेको जोगवनी रेल्वे स्टेशनमा कार्गाे रेल मार्फत आएको नून र फलामको स्क्र्याब बर्षातको पानीले भिजेको छ । ब्यवस्थित भण्डारण स्थल नभएको कारण बाहिर खुला चौरमा रेलको ¥याक खाली गरिएको कारण बर्षातले नून लगायतको सामाग्री ढुवेको छ । 

त्यसैगरि मोरङको प्रिमियर स्टिल र सुनसरीको स्वस्तिक रोलिङ मिल १५–१५ सय बोरा आयात गरेको स्पन्ज आइरन पनि भिजेको छ । पानीको सम्पर्कमा आएपछि स्पन्ज आइरन काम नलाग्ने हुन्छ । स्वस्तिक रोलिङ मिलका संचालक रमेश राठीले पानी र स्पन्ज आइरन एक अर्काको दुस्मन जस्तै रहेकाले पानीबाट जोगाउनु पर्ने हुन्छ तर पानीले यो पटक यार्डमै स्पन्ज आइरन काम नलाग्ने गरि भिजाएको छ । स्पन्ज आइरनमा पानी पर्दा आगो लाग्ने खतरा पनि रहन्छ । तर संयोग यो पटक त्यस्तो भएन ।  क्षतिको विवरण आउन समय लाग्ने उनले बताए । लगातार तीन दिन सम्म छ ¥याक समान आएपछि ब्यावस्थापन गर्न समस्या भएको व्यवसायीले बताए । 

चार ¥याकमा साल्ट ट्रेडिङको नुन र अरु दुई ¥याकमा प्रिमियर स्टिल तथा स्वस्तिक रोलिङको स्पन्ज आइरन थियो त्यस्तै २ ¥याक कमला स्टिलको फलामे तार समेत यार्डमा अनलोड गरिएको थियो। राठीका अनुसार सामान अनलोड भएर यार्डमा राखिएपछि ढुवानी गर्न नै नपाई पानी परेपछि जोगवनी यार्डमा एक फिटसम्म पानी जमेर सामानहरु भिजेका हुन । यार्डमा पानीको सहज निकास छैन । 

रेल विभागका विराटनगर साइट इन्चार्ज इन्जिनियर रोशन देवले आइसीपीमा कार्गाे आउन कुनै समस्या नरहेको बताए । उनले भने‘हामीहरु सबै तयार बसेका छौं तथ ब्यावसायीहरुले कार्गाे मगाउनु भएन, कार्गाे ल्याउने काम ब्यावसायीहरुको हो ।’

कार्गो रेल आए पहिलो दिन जस्तै सबै प्राविधिक पक्ष समेतको व्यावस्था आइसीपी स्टेशनमा रहेको उनले बताए । दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरि सकेको रेल्वे यार्डमा समान नल्याएर पुरानै जोगवनीको यार्डबाट माल ल्याउदा उद्योगी व्यवसायीले नयाँ आइसीपी यार्डलाई विश्वास नगरेको देखिएको छ । तर जोगवनी यार्ड जतिकै आइसीपी यार्डबाट पनि उहाँहरुले सेवा पाउनु हुन्छ । निसन्देह कार्गो ल्याउन नउले उद्योगी र व्यावसायीलाई आग्रह गरे ।  

रेल्वेमा तीन प्रक्रियाले काम हुने बताउदै देवले पहिलो कार्गो ह्यान्डलिङ, दोस्रो रेल अपरेसन र तेस्रो भन्सार जाँचपास । कार्गो ह्यान्डलिङको काम नेपाल इन्टर मोडल यातायात विकास समितिले गर्ने हो,’ उनले भने, ‘रेल अपरेसन गर्न हामी तयार छौँ । भन्सार जाँचपासको काम गर्ने भन्सार कार्यालय छँदैछ।’


नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले रेल वे यार्डबाट आयातनिर्यात सुरु गर्न ५५ करोडको लगानीमा संरचना निर्माण गरिरहेको उनले जानकारी दिए । उनले इन्टरमोडलले यार्डमा प्लेटफर्म बनाउने, यार्डदेखि आइसीपीसम्म आइपुग्ने सडक चौडा गर्ने र कन्टेनर पार्किङ यार्ड निर्माण गर्ने लगायतका काम गरिरहेको बताए ।  ६ महिनाभित्र निर्माण भइसक्ने छ । 

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवम् प्रिमियर स्टिलका सञ्चालक अनुपम राठीले रेल विभागले व्यवसायीलाई आइसीपीमा सम्पूर्ण साधन र स्रोत सहितको रेलवे यार्ड तयार भएको जानकारी नदिएसम्म आइसिपीसम्म कार्गोरेल ल्याउन नसकिने बताए ।

उद्योगपति राठीले आइसीपीसम्म कार्गोरेल ल्याएपछि कार्गो ह्यान्डलिङ र भन्सार जाँचपासमा कुनै असुविधा नहुने प्रत्याभूति सरकारी पक्षले नगरेसम्म आइसिपीको रेल वे यार्डमा कार्गो रेल आउन ल्याउन नसकिने बताए । उनले जोगबनीको यार्डमा आफ्नो उद्योगको १५ सय बोरा स्पन्ज आइरन नष्ट भएको र यसबाट ४५ लाखको क्षति भएको उल्लेख गरे । 


उद्योगी रमेश राठीले आइसीपीको रेल वे यार्डमा मालवस्तु ल्याएपछि ती सामान ओसार्न नेपाली नम्बरका पर्याप्त ढुवानीसाधन नभएको बताए । भारतीय नम्बरप्लेटका ढुवानीका साधनलाई नेपाली ढुवानी व्यवसायीले आइसिपीमा छिर्न दिँदैनन्। त्यसैले आइसीपीसम्म कार्गोरेलको सञ्चालनका लागि पर्याप्त ढुवानीका साधनको व्यवस्था पहिलो शर्त भएको बताए । 

उनले भने ‘हामी उद्योगका लागि एक पटकमा २४ सय टन स्पन्ज आइरन मगाउछौँ’, यसको ढुवानीका लागि ८० वटा ट्रक चाहिन्छन् । नेपाली नम्बर प्लेटका ८० वटा ट्रक जुटाउन गाह्रो छ । अर्कातिर रेल वे यार्डबाट निर्धारित समयमा मालवस्तु नउठाए त्यसको डिटेन्सन शुल्क अत्यन्त महँगो छ ।’ दुवै प्रमले उद्घाटन गरे पछि त्यहाको सुविधाका बारेमा रेल्वेले उद्योगी ब्यावसायी कसैलाईपनि कुनै जानकारी गराएको छैन । सबै कुरा ठिक छ कुनै झंझट ब्यहोर्नु पर्दैन भन्ने सरकारी पक्षबाट प्रतिवद्धता आएपछि मात्र आफूहरुले आइसीपीमा कार्गाे ल्याउन सकिने उनले बताए ।