विराटनगर-विराटनगरको आइसीपीबाट चार किलोमिटर दक्षिण पश्चिम भारतीय क्षेत्रमा रहेको मिरगंज पुल भासिएपछि भारत लगायत तेश्रो मुलुकबाट सामान लिएर आउने ट्रक तथा लरीहरु अहिले ११६ किलोमिटर पश्चिम उत्तरमा रहेको सुनसरीको भण्टावारी नाकाबाट आउदा एउटा ट्रक अथवा लरीलाई २० हजार सम्म नेपाली रुपैया बढी भाडा तिर्नु परेको उद्योगी तथा व्यवसायीले गुनासो गरेका छन । 

नेपालको दोश्रो नाकाको रुपमा रहेको विराटनगर जोगवानी नाकामा ७ बर्षदेखी मिरगंजको पुलनै निकासी पैठारीको लागि बाधक बन्दै आएको छ । तर नेपाल सरकारले कुटनीतिक माध्यमबाट त्यहा फलामे पुलको साटो तत्काल नयाँ पुल निर्माण गर्न लगाएर संचालनमा ल्याउनु पर्नेमा सो गर्न नसकेकोमा उद्योगीहरुले नेपालको कुटनीतिक फितलोपन प्रति गुनसो गरेका छन । 

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नेपाल भारत उद्योग बाणिज्य संघका अध्यक्ष अविनास बोहोराले बेली ब्रिज भासिएमा तत्कालै त्यसलाई खोलेर अन्य स्थानमा सारेर वा त्यहि पनि एकै दिनमा बनाउन सकिन्छ । तर नेपालको कुटनीतिक पहल नै कमजोर भएका कारण प्रत्येक बर्ष विराटनगरका उद्योगी व्यवसायीले ४ महिना सम्म ढुवानीको बढी भाडा र डिटेन्सन चार्ज तिरेर बस्नु पर्ने बाध्यता रहेको उनले बताए । 

उद्योग संगठन मोरङका कोषाध्यक्ष बिपिन कावराले अन्तराष्ट्रि बोर्डरमा आउने बाटोको पुल निर्माण गर्न समेत नेपालको कुटनीतिक पहल पुग्न नसक्नु दुखद भएको बताए । उनले एउटा सामान्य फलाम(बेलीब्रिज) पुल बन्न एक दिन काफि हुने बताए । बेस बनिसकेको पुलमा स्क्रुप कसेर पुल बनाउने हो जुन विश्वको सबैभन्दा सजिलो प्रविधि हो । तर महिनौं विराटनगर उद्योगी व्यवसायीले त्यहि पुलको कारण दुख र घाटा ब्यहोर्दै आएको कावराले बताए ।  

कलकत्ताबाट जोगवानी नाकाहुदै सामान मगाउदा बढी मूल्य पर्ने भएकाले अहिले उद्योगीहरुले काकडभिट्टा लगायतका अन्य नाकाबाट माल मगाउन थालेको कावराले जानकारी दिए । उनले भने‘धेरै घुमेर आउनु पर्छ एक त भाडा १२ हजार भारु थप लिन्छ उता कन्टेनरको डिटेन्सन चार्ज प्रतिदिन १५० डलर तिर्नु पर्छ ।’ त्यहि भएर यहाका उद्योगी व्यवसायी विराटनगर नाकाको विकल्पमा जान बाध्य भएका छन । 

कावरा र बोहोराले मिरगंजबाट ४ किलोमिटर जोगवनी भन्सार आइपुग्ने मालवाहक सवारी झण्डै २०० किलोमिटर घुमेर(आउने र जाने) विराटनगर भन्सार कार्यालय आइपुग्दा औद्योगिक कच्चा पदार्थ र फिनिस गुड्समा प्रतिकिलो ७५ देखी ८० पैसा सम्म बढी भाडा तिर्नु परेको बताए । उनीहरुका अनुसार यो बढी भाडा फिनिस गुड्समा जोड्दा त्यसले कडा प्रतिष्पर्धामा रहेको बजारमा समस्या आउने अथवा माल नविक्ने हुनाले उद्योगीहरु लगात बढेपनि चुपचाप पुरानै मूल्यमा माल विक्री गर्न बाध्य छन । 

विराट ब्यापार संघका अध्यक्ष सुजन थापाले नेपाल सरकारले ४ किलोमिटर मात्रैको दुरुको पुलका लागि पहल नगर्दा अहिले उद्योगी व्यवसायी र ब्यापारीहरुको माल विराटनगर आइसीपी सम्म आइपुग्न ११६ किलोमिटर घुमेर सुनसरीको भण्टावारी नाका हुदै आउजाउ गर्नु पर्ने बाध्यताले सामानको सुरक्षाको समेत चिन्ता थपिएको बताए । भारत तीर पनि निर्जन बस्ती हुदै जानु पर्ने र नेपाल भित्रिएपछि पनि कतिपय स्थानमा सुरक्षा थ्रेटका बिच पनि मालसामान ढुवानी गर्नु परिरहेको उनले बताए ।