विराटनगर-नेपाल भारत सीमानाकाबाट चार किलोमिटर दक्षिण पश्चिममा रहेको मिरगंज पुल बिहिबारबाट भासिएपछि त्यसबाट आवतजावत ठप्प हुदा विराटनगर भन्सारको दैनिक राजश्व संकलन प्रभावित भएको छ । विराटनगर भन्सारको दैनिक १४ करोड ५० लाख राजश्व संकलन गर्ने लक्ष रहेको छ । 

२०७४ सालको साउन महिनामा पहिलोपटक पुल भासिदा ११६ किलोमिटर पश्चिम सुनसरीको भन्टावारीबाट मालवाहक सावारी आवात जावत गर्नु परेको थियो । मिरगंजको पुल सो बेलामा तीन महिनापछि मर्मत भएर संचालनमा आएको थियो । बेलीब्रिज भासिएपछि भारत सरकारले भासिएको पुल भन्दा एक किलोमिटर उत्तर तर्फ नयाँ पक्की पुल निर्माण गरेको छ । तर उक्तपुलको निर्माण सम्पन्न भएर हस्तान्तरण हुन अरु दुई महिना समय सिमा रहेको छ ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाका अनुसार २४ घण्टादेखी उक्तपुलबाट आउजाउ बन्द रहेपनि भन्सार भित्रीएका मालबस्तुको राजश्व संकलन भइरहेको छ । नेपाल सरकारले नयाँ नाकाको लागि अनुमति नदिएसम्म आफुखुसी मालबस्तु अन्य नाकामा डाइभर्टगर्न नमिल्ने उनले बताए । भाण्टावारी नाकाबाट मालबस्तु आयात र निर्यात गर्दा ११६ किलोमिटरको दुरी तय गर्नु पर्ने भएकाले १२ किलोमिटरको छोटो दुरी पत्ता लगाएर सिफासिर गरिएको र उक्त रुटका लागि भारतीय अधिकारीले स्वीकृती दिएमा १२ किलोमिटर घुमेर विराटनगर आइसीपीमै मालवाहक आउन सक्ने उनले जानकारी दिए ।

भारतीय भन्सार जोगवनीका प्रमुख अशोककुमार दासले डिस्ट्रिक मजिस्टेटलाई अररियाको कुर्सीयाकाटा, मेहन्दीपुर, पगडेरा हुदै कलहवा निरपुरबाट जोगवनी प्रवेश गर्ने १२ किलोमिटरको नयाँ रुटको स्वीकृतीका लागि पठाएका छन । उक्त रुट स्वीकृती भएर आए शनिबारबाट नै नेपालभारत नाकामा मालवाहकको आवत जावत सहज हुन्छ ।

नेपाल उद्योग परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरेको नेतृत्वमा गएको उद्योगी व्यवसायीहरुको टोलीले भारतीय भन्सार प्रमुख दासलाई भेटेर मिरगंज पुलको सट्टामा बनिसकेको पक्की पुलको संचालन चाडो गर्न र तत्कालका लागि नयाँ रुटबाट आवतजावत सुचारु गर्न आग्रह गरेको छ । टोलीले पुलको समेत निरिक्षण गरेको थियो । 

त्यसैगरि मोरङ ब्यापार संघ र उद्योग संगठन मोरङका उद्योगी व्यवसायीहरुको टोलीले समेत भासिएको पुलको निरिक्षण गरेको थियो । उद्योगी व्यवसायीहरुले नेपाल र भारतका भन्सार प्रमुखहरुलाई भेटेर छोटोबाटो बाट तत्काल आवतजावत सुचारु गर्न माग गरेका छन ।