विराटनगर-प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सोमबार प्रदेशअन्तर्गतका निकायबाट प्रवाहहुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई महत्वपूणर् निर्देशन दिएका छन । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित ‘प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धी’ कार्यक्रममा मुख्यमन्त्री राईले गुणस्तरीय सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।  १ नम्बर प्रदेशअन्तर्गत यातायात सेवा प्रवाह गर्ने कार्यालय आठ वटा छन् । प्रदेश सरकारको यातायात व्यवस्था निर्देशनालय अन्तर्गत आठ वटा कार्यालयमा करार समेत गरी १७१ कर्मचारी कार्यरत छन् । उक्त अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्ने कार्यविधि तथा निर्देशिका बनाउनुपर्नेमा जोड दिए । 

उक्त कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले ‘यातायात व्यवस्थामा अन्तर सरकारी समन्वय’ विषयमा र प्रदेश नं. १ यातायात व्यवस्था निर्देशनालयका निर्देशक भीम गौतमले निर्देशनालय मातहतका कार्यालयबाट प्रवाह गर्ने सेवाका विषयमा जानकारी गराएका थिए ।  

कार्यक्रममा प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मोहन चापागाई लगायतको उपस्थिति थियो ।