विराटनगर-उद्योग संगठन मोरङ र श्रीलङ्काली राजदूतबीच भेटवार्ता भएको छ । भेटका अवसरमा व्यवसायीक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागी आपसी अनुभव, सिप तथा ज्ञान, प्रविधि, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका सम्बन्धमा नेपालका लागी श्रीलङ्काका राजदूत हिमाली अरुणतिलकासँग भेटघाट तथा छलफल गरेको छ ।

नेपालस्थित श्रीलङ्कालीे दुताबास काठमाडौंमा पुस ५ गते भएको भेटघाटका अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले दुई देशबीच पौराणिक कालदेखि नै मित्रवत सम्बन्ध रहँदै आएकोले धार्मिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा समेत भएको समानतालाई आर्थिक एवं व्यवसायीक महत्व र अवसरमा रुपान्तरणको सम्भावनाका बारेमा संगठनले चासो राखेको उल्लेख गरे । 

अध्यक्ष प्याकुरेलले औद्योगिक क्षेत्रमा विशेष गरि चिया, गार्मेन्ट्स तथा निर्माणको क्षेत्रका साथै श्रीलङ्का र नेपालबीच सिधा हवाई उडान समेत प्रारम्भ भइसकेको स्मरण गरे । जसका कारण पर्यटनको क्षेत्रमा श्रीलङ्का र नेपालबिच व्यवसायीक सम्बन्धको विकास, आपसी अनुभव तथा प्राविधिक ज्ञान आदान प्रदान गर्न नेपाली उद्योगी र श्रीलङ्काका उद्योगीहरुबीच सम्बन्ध बिस्तारका लागी सहजीकरण गरिदिन राजदुतलाई अनुरोध गरे ।


संगठनका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले निर्यात मूलक उद्योगको प्रवद्र्धनका लागि श्रीलङ्काले गरेको सफल अभ्यासका अनुभव तथा प्रयासहरुका बारेमा नेपाली उद्योगीहरु जान्न र बुझ्न उत्सुक रहेको बताए । श्रीलङ्काका राजदुत हिमाली अरुणतिलकाले श्रीलङ्का र नेपालबीच उत्पादनमुलक उद्योग, निर्माण, पर्यटन लगायतका धेरै क्षेत्रहरुमा सहकार्यको प्रचुर सम्भावना रहेकोले दुई मुलकका औद्योगिक तथा व्यवसायी बीच सहजीकरण गर्न तत्पर रहेको बताए । 

राजदुतले उद्योगीको टोलीलाई श्रीलङ्काको भ्रमणका लागी आमन्त्रण गर्नुका साथै उक्त भ्रमण कार्यक्रममा श्रीलङ्कास्थित सरकारी तथा व्यवसायीक संघ संस्था तथा सम्बन्धीत औद्योगिक पक्षहरुसग व्यवसायीक भेटघाट तथा बिटुबि मिटिङहरुको सहजीकरण दुतावासले गरिदिने उल्लेख गरेका थिए ।


दुताबास कै पहलमा उद्योग संगठन मोरङ र सिलोन नेशनल चेम्बर अफ इण्डष्ट्रिजबीच संस्थागत सहकार्यका लागी आगामी २७ जनवरीमा दुबै संस्थाबीच मेमोरेन्डम अफ अन्डरस्टेन्डिङ (एमओयु) मा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको संगठनका महानिर्देशक चुडामणी भट्टराईले जानकारी दिए ।