फुङ्लिङ । पूर्व क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायले आज चासोक तङ्नाम धुमधामका साथ मनाउँदै छन् । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङ्नाम मनाउँदै आएका छन् ।

खेती प्रणालीको विकासदेखि ती समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएको किराँत याङ्थुङ चुम्लुङ ताप्लेजुङका शाखाका सचिव इदिरा मान्याङ्बोले बताए । धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ ।

आजको दिन किराँत समुदायमा बस्ती चासोक तङ्नाममय बनेको छ । प्रदेश नं १ मा किराँत समुदायको बसोबास भएकाले आज एक दिन सार्वजनिक बिदासमेत दिएको छ । प्रायः पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरीमा चासोक तङ्नामन मनाइन्छ ।

चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ । सारमा, बाली उब्जाइदिने प्रकृति–जल, जमिन, वायु, अग्नि (सूर्य) लाई विशेषले पुजिन्छ । चासोक तङ्नाम अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि हो । लिम्बू जातिले अन्नलाई एक प्रकारले माङ् (देवता) नै मान्दै आएको किराँत याक्थुङचुम्लुङका ताप्लेजुङका उपध्यक्ष डिपी बालुङबाले बताए ।

चासोक तङ्नाम पैँयु फुल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उधौली याम (दक्षिणायण) को न्वागी पर्व चासोक तङ्नाम पर्वका रुपमा मानउने गर्दछन् । लिम्बू भाषामा ‘चासोक’को अर्थ नया पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ । तागेरानिङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ । ‘तङ्नाम’ले पर्व÷चाड अर्थात् उत्सव जनाउँछ ।

लिम्बू मुन्धुम (शास्त्र) अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङले काँचो कन्दमूल खोजी खाने गर्दथ्यो । यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गर्नुभयो । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर), क्यावो (फापर), फामु (कागुनी) लगायत बिज दिएको लिम्बू शास्त्रमा उल्लेख गरिएको छ ।