इनरुवा- सुनसरी प्रहरीले तत्कालीन भादगाउँ सिनवारी–६ (हाल रामधुनी –५) निवासी जैयसकुमार साहको घरमा डाँका गरी फरार रहेका अजित मियाँलाई समेत पक्राउ गरेको छ । २०६८ भदौ १७ गते राति साहको घरमा ३ जनाको समूहले डाँका मारेको थियो । 

तीनै जना फरार रहेकामध्ये तत्कालिन चाँदवेला–१ ( हाल इनरुवा–७) घर भएका मियाँलाई सुनसरी प्रहरीको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा सोमबार (हिजो) उनकै घरबाट पक्राउ गरेको हो ।

उनले २०७४ पुस २७ आफ्नो मृत्यु भएको भनी स्थानिय पञ्जिकाधिकारीको कार्यालयवाट मृत्यु दर्ता प्रमाणपत्र समेत बनाएका थिए । ‘प्रहरीले पक्राउका लागि गरेको कोसिसका बाबजुद उम्कँदै आएका रहेछन्’, सुनसरी प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले भने, ‘अजितको मृत्यु भइसकेको छ, ऊ फटाहा नै थियो भनेर आफू भने आजितको भाइ अजिज हुँ भन्ने भ्रम छरेर जोगिँदै आएको रहेछ ।’

‘सो घटनाका पीडित तथा अर्का प्रतिवादी लुचाई शर्मा खत्वेले उनी अजिज नभई अजित नै हो तर ऊ पनि उक्त डाँका घटनामा संलग्न थियो भनेर सनाखत गरिदिएका थिए’, डिएसपी कार्कीले भने, ‘खत्वेले फैसलाबमोजिमको कैद तथा जरिवाना भुक्तान गरिसकेका छन् ।’

सुनसरी जिल्ला अदालतले २०७५ असार ११ गते उक्त घटनामा संलग्न तीनै जनालाई जनही ६ वर्ष कैद तथा ९९ हजार जरिवानाको फैसला गरेको थियो ।

यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीले विगत चार महिनामा पाँच सय ६५ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । डिएसपी कार्कीका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि मङ्सि ७ गतेसम्ममा फरार रहेका पाँच सय ६५ जनालाई पक्राउ गरिएको हो ।

विभिन्न समयमा विभिन्न अपराध गरी सुनसरी जिल्ला अदालतमा पेस हुँदा कैद तथा जरिवाना तोकिएर फरारमध्ये पाँच सय ६५ जनालाई पक्राउ गरिएको उनले बताए । उनका अनुसार फरार प्रतिवादीहरूबाट २६ लाख ७२ हजार नौ सय ६ जरिवाना वेरुजु असुल फर्छ्योट गर्न प्रहरी सफल भएको छ ।

यसैगरी, मङ्गलबार एकै दिन ४२ जना फरार प्रतिवादीहरूलाई फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित सुनसरी जिल्ला अदालतमा पेस गरिएको डिएसपी कार्कीले जानकारी दिए ।