धरान-सुनसरीको धरान उपमहानगरपालिकामा पतिको कुटाइबाट पत्नीको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१५ की ३४ वर्षीया छुङ्कु मगर (राई) रहेकी छन् । 

गत बिहीबार पति ४१ वर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनी घाइते भएकी थिइन् । बेलुका ६ बजेको समयमा घरायसी विवादका क्रममा महेन्द्रले पत्नी छुङ्कलाई कुटेका थिए । 

घाइते उनलाई केही दिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । 

सुनसरी प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ  ।