भोजपुर - प्रदेश नम्बर  १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरण सहित अरुण नदीमा कुनै पनि हालतमा पुल बनाउने व्यवस्था गर्ने बताएको छन् ।  मुख्यमन्त्री राईले गृह जिल्लाको गृह नगर षडानन्द नगरपालिकामा भएको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्रीहरुले प्रदेशको नामकरण गर्ने विषयमा छलफल नै नगरेको आरोपसमेत लगाए । 

प्रदेशको नामकरण गर्ने विषयमा कम्तीमा दुई तिहाई बहुमतले पास गर्नुपर्ने संविधानमा व्यवस्था छ । प्रदेशको नामकरणको विषयमा ठुला राजनीतिक दलले संसदमा प्रस्ताव लानु पर्ने हुन्छ । योभन्दाअगाडि त्यस्तो नभएको र अब गठबन्धन यही प्रक्रियाबाट नामाकरणको विषयमा अगाडी बढ्ने  मुख्यमन्त्री राईको धारणा छ ।

विगत लामो समयदेखि भोजपुरको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीमा पक्की पुल निर्माण हुन नसकेकोमा आफू दुःखी रहेको उनले बताए । विगतमा पुलको निर्माण कार्य  हुन नसकेको भन्दै मुख्यमन्त्री राईले आफ्नो कार्यकाल छोटो भए पनि अरुण नदीमा पक्की पुल निर्माण हुने दाबी गरे ।