विराटनगर-प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भीम आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय, नियुक्ति र सरूवा खारेज गर्ने निर्णय गरेका छन् । मंगलबार सपथ ग्रहणपछि मुख्यमन्त्रीको कार्यभार सम्हाल्दै राईले आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय खारेज गरेको घोषणा गरेका हुन् । 

‘यसअघिको भीम आचार्य नेतृत्वको सरकार गठन नै असंवैधानिक रहेकोले त्यसले गरेका सबै निर्णय, नियुक्ति सरुवा पुनरावलोकन गरी खारेजीको प्रक्रियामा लैजाने निर्णय लिइएको छ,’ मुख्यमन्त्रीको कार्यभार सम्हाल्दै राईले भने ।

राईले प्रदेशका १३७ स्थानीय तहका एक-एक जना अल्पसंख्यक, सीमान्तकृत, दलित र विपन्नलाई प्राविधिक शिक्षा अध्ध्यन गर्न छात्रवृत्ति प्रदान गर्ने दोस्रो निर्णय लिएका छन्।

यस्तै, राईले लोपोन्मुख सन्कृति संरक्षणको लागि कार्यविधि तर्जुमा गर्ने पनि निर्णय लिएका छन् । आचार्य सरकारले अल्पमतमै रहँदा प्रादेशिक सञ्चार प्रतिष्ठान, खेलकुद विकास बोर्ड, पर्यटन विकास बोर्डलगायतमा राजनीतिक नियुक्ति गरेको थियो ।