खोटाङ — जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूत/प्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ । वर्षको दुई पटक उधौली र उभौलीअर्थात् कात्तिक र चैतमा जोगीले घरघरमा डुलेर रातभर मन्त्र जप्दै शङ्ख (बराँठको सिङ) बजाएर फेरी लगाउने चलन छ ।
धार्मिक आस्थासँग जोडिएको फेरी लगाउने परम्परागत पेसालाई दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका १९ घर जोगी समुदायले लामो समयदेखि निरन्तरता दिँदै आएका छन् । फेरी लगाउने जोगीलाई फेरी लगाइएको घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्यूलगायत खाद्यान्न तथा पैसासमेत भिक्षा (दान) दिने चलन छ । रातका समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा सङ्कलन गरी जोगी समुदायले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।
फेरी लगाएर मन्त्र जाप गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जिल्लावासीमा जनविश्वास छ । बतासेका ६३ वर्षीय तीर्थबहादुर जोगी ४४ वर्षदेखि जिल्लाबासीको शान्तिको कामनासहित फेरी लगाउने पेशामा सक्रिय रहका छन् । तीर्थबहादुरको दुई छोराहरु पनि यही पेसाअर्थात् फेरी लगाउने काम गर्छन् । उनीहरु फेरी लगाउन जिल्लाका विभिन्न स्थानीय तह तथा छिमेकी जिल्ला भोजपुर र उदयपुरको गाईघाट बजारसम्म पुग्ने गरेका छन् ।
तीर्थबहादुर बाउछोरा जस्तै बतासेका अन्य सबै १९ घरका जोगी समुदाय फेरी लगाउने पेसामै आबद्ध छन् । बतासेमा ती घरमध्ये भारती, गजुरनती र रिदनती थरका जोगी समुदायको बसोबास छ । बतासेका जोगी समुदायले आफूहरुलाई ‘गुरु गोरखनाथ’को चेलाका रूपमा अन्य समुदायलाई चिनाउने गरेका छन् । तीर्थबहादुरको जेठा छोरा ३५ वर्षीय कैलाश जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका क्षेत्र र कान्छा ३२ वर्षीय शङ्कर जोगी छिमेकी जिल्ला उदयपुरको गाईघाट पुगेर फेरी लगाइरहेका छन् ।
ती समुदायले आफूहरुबीच भूगोलसमेत निर्धारण गरेका छन् । आफ्नो वंशले गर्दै आएको क्षेत्रमा सोही वंशका व्यक्तिले मात्र फेरी लगाउने चलन रहेको बतासेका ५० वर्षीय लाखबहादुर जोगीले जानकारी दिए । “विसं २००७ देखि २०३७ सालसम्म ठेक्कामार्फत फेरी लगाउने चलन थियो”, उनले भने, “अहिले ठेक्का प्रणालीमार्फत फेरी लगाउने चलन हटेको छ । जोगी समुदायबीचमै आपसी समझदारीमा क्षेत्र निर्धारण गरेर फेरी लगाउने गरिएको छ ।”
फेरी लगाएमा घरको रक्षा हुने, भूतपिचास नआउने जस्ता जनविश्वासका कारण आफूहरुलाई फोनमार्फत समेत स्थानीय बासिन्दाले आफ्नो गाउँ तथा घरमा आउन आग्रह गर्ने गरेको तीर्थबहादुरले बताएका छन् । “धार्मिक आस्थासँगै जोडिएको फेरी लगाउने परम्परालाई वर्षौंदेखि हामीले निरन्तरता दिँदै आए पनि अहिलेसम्म राज्यको तर्फबाट भने कुनै संरक्षण तथा प्रवद्र्धनको काम भएको छैन”, उनले भने, “युवा पुस्ताले भने फेरी लगाउने पेसामा त्यति धेरै चासो देखाएका छैनन् । यसलाई संरक्षण र प्रवद्र्धन गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने अवस्था आएको छ ।”















