विराटनगर-चार दिन अघि भारतले खाने तेलको मूल्यमा नियन्त्रण गर्न आयातित खानेतलेको कच्चा पदार्थको भन्सारमा भारी कटौती गरेपछि खाने तेल प्रशोधन गरेर भारतीय बजारमा पठाई रहेका नेपालका उद्योगहरु मारमा परेका छन । उद्योगीहरुले नेपाल सरकारले पनि भन्सार महशुलमा छुट हुनु पर्ने माग गरेका छन । 

भारतले कच्चा पाम तेलमा १६ दशमलव ५ तथा सूर्यमुखी र भटमासको तेलमा १९ दशमलव २५ प्रतिशतले महसुल कटौती गरेको हो । यो कटौतीपछि भन्सार फरकको फाइदा उठाउँदै निकासी गर्ने नेपालका तेल उद्योग प्रभावित भएका हुन । नेपालका तेल उद्योगहरुले भारतीय उत्पादन संग प्रतिस्पर्धा गर्ने गरि कच्चा तेलको आयातमा भन्सार महशुल छुट मागेका छन । 

नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनास बोहोराले भारतले तेस्रो मुलुकबाट आयात हुने कच्चा तेलको मूल्यमा लिइदै आएको भन्सार शुल्क शून्यमा झारेपछि नेपाल सरकारले पनि कच्चा खानेतेलमा लिइदै आएको १० प्रतिशत शुल्क खारेज गरि शुन्यमा झारेमा मात्र नेपालका  खाने तेल उद्योगले भारतमा प्रतिष्पर्धा गर्न सक्ने अवस्था सृजनाहुने उल्लेख गरे । 

अध्यक्ष बोहोराले विश्व बजारमा खानेतेलको मूल्य एकाएक बढेकाले त्यसको असर नेपाल र भारतीय उपभोक्ता माथि परेको जानकारी दिए । तर भारत सरकारले भारतीय उपभोक्ताmलाई खाने तेलमा बढी मूल्य तिर्न नपारोस भनेर सरकारले नीति ल्याएपनि नेपाल सरकारले भने नीति ल्याउन ढिला भएको टिप्पणी उनले गरे ।  


व्यवसायीका अनुसार भारतको नयाँ रणनीतिले करिब ७० अर्बको निकासी प्रभावित भएको छ । भारतले एक महिनायता कच्चा तेलको भन्सार महसुल दोस्रो पटक घटाएको हो । एक महिनाअघि तीनवटै कच्चा तेलको भन्सार महसुल ३० प्रतिशतबाट घटाएर २४ दशमलव ७५ प्रतिशत बनाइएको थियो ।


भारतले मुलुकमा बढ्दो महँगी नियन्त्रण गर्न र सर्वसाधारणलाई राहत दिन कच्चा तेलको भन्सार महसुल दोस्रो पटक घटाएको जनाएको छ। नयाँ नोटिफिकेसन अनुसार भारतमा कच्चा पाम तेलको पैठारीमालाग्ने महसुल २४ दशमलव ७५ रहेकोमा त्यसलाई घटाएर ८ दशमलव २५ प्रतिशतमा झारिएको छ । त्यस्तै, भटमास र सूर्यमुखीको कच्चा तेलमा रहेको २४ दशमलव ७५ प्रतिशत भन्सारलाई ५ दशमलव ५० प्रतिशत कायम हुने गरी भारतले संशोधन गरेको छ ।


मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले भारत सरकारको सानो भन्दा सानो नीतिले पनि नेपाली उद्योगहरु प्रभावित हुने पुरानै परम्परा रहेको तर पछिल्लो नीति संग प्रतिष्पर्धा गर्न नेपालले पनि तेलको आयात र निर्यातमा लचिलो नीति लिनु पर्ने उनले बताए ।  

मुन्दडाले भारतको नयाँ निणर्यले नेपालले त्यसतर्फ गर्दै आएको खाने तेलको निकासी प्रभावित हुने बताए । उनले नेपालका रिफाइनरीले निर्यातका लागि आयात गरिने कच्चा पदार्थमा बैङ्क ग्यारेन्टी वा पासबुक सुविधा उपभोग गरे पनि भारतीयहरूले भन्सार महसुल तिरेर आयात गरेको कच्चा पदार्थ नै सस्तो पर्ने दाबी गरे ।


उद्योग संगठनका कोषाध्यक्ष तथा क्वालिटी रिफाइनरीका संचालक विपीन कावराले भने ‘हामीले बैङ्क ग्यारेन्टी र पासबुकको सुविधामा कच्चा पदार्थ आयात गर्दा कुनै राजस्व तिर्नुपर्दैन’, कोषाध्यक्ष काबराको तर्क थियो, ‘तर हामीले एक पटकमा जति कच्चा तेल खरिद गर्छौं, भारतीय उद्योगीले एक पटमा हामीले भन्दा २० गुना बढीले खरिद गरेको हुन्छ । भारतीय क्रेताले कच्चा पदार्थ बल्कमा खरिद गर्ने हुँदा हामीले राजस्व नतिरेको कच्चा पदार्थभन्दा उनीहरूले तिरेको कच्चा पदार्थ सस्तो पर्न जान्छ। त्यसैले हामीले गर्ने निर्यात प्रभावित हुने देखिएको हो। अब नेपालमा भन्दा भारतमै प्रशोधित तेल सस्तो पर्ने छ।’


पशुपति खाद्य तेल उद्योगका सञ्चालक अमित शारडाले निर्यातमा कत्तिको असर पर्छ भन्ने हिसाब निकाल्न समय लाग्ने भए पनि प्रारम्भिक अध्ययनअनुसार निर्यात हुन नसक्ने देखिएको बताए। ‘दुई तहभन्दा बढीले महसुल कटौती गर्नु सामान्य घटना होइन’, उद्योगी शारडाले भने, ‘नेपाल सरकारले पनि यही दिशामा अग्रसर हुनु जरुरी छ। हामीलाई तेलको मूल्यवृद्धि गरेको भनेर बारम्बार बदनाम गरिन्छ। तर अन्तर्राष्ट्रिय रूपमै अचाक्ली मूल्यवृद्धि भएपछि भारत सरकार महसुल घटाउन बाध्य भएको हो।’


इन्डोनेसिया र मलेसियाबाट आयात गरिने कच्चा पाम तेलको मूल्य अहिले टनको एक हजार ३५० डलर छ। एक महिनाअघि मात्र यसको मूल्य एक हजार १८० डलर थियो। त्यस्तै अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट आयात गरिने कच्चा सूर्यमुखीको तेलको मूल्य एक महिनाअघि एक हजार तीन सय डलर प्रतिटन रहेकोमा हाल एक हजार ४८५ डलर छ।


त्यस्तै अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट आयात गरिने भटमासको कच्चा तेलको मूल्य पनि टनको एक हजार ४२० डलर पुगेको छ। महिना दिनअघि यसको मूल्य एक हजार २५० रहेको शारडाले बताए।