आफ्नै पत्नीलाई भरुवा बन्दुक ताकी मार्छु भनेर धाकधम्की दिने पतिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर रामप्रसादराई गाउँपालिका १ चामबोटे का ४६ वर्षीय सुजिल राई रहेका छन् । 

उनलाई शुक्रबार राति सवा ८ बजे भरुवा बन्दुकसहित अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले घरयासी विवादको कारण पत्नी ४५ वर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गरेका थिए । 

त्यसपछि उनले घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक निकालेर जुनालाई ताक्दै मार्छु भनी धाकधम्की दिएका थिए । स्थानीयले थाहा पाएपछि सुजिल बन्दुक छोडेर फरार भएका थिए । 

यता, कोदालो प्रहारबाट जुनालाई गहिरो चोट लागेको छ । स्थानीयले प्रहरीमा जानकारी गराएपछि प्रहरीले जुनालाई उपचारको लागि स्थानिय मेडिकल ओख्रेमा पठाएको थियो ।

फरार सुजिललाई प्रहरीले खोजतलास गरी पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय भोजपुर पठाएको थियो । साथै प्रहरीले घटनस्थलबाट भरुवा बन्दुक, कोदालोसमेत बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।