विराटनगर- वन्यजन्तुको अंगजस्तो देखिने वस्तु सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको छ । विराटनगर महानगरपालिका–१५ स्थित विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट गय राति उक्त वस्तु बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए । शंकास्पद अवस्थामा भारतबाट नेपाल प्रवेश गरेको को २ च ९६४८ नम्बरको मारुती भेन रोकेर राति ८ बजेतिर खानतलासी गर्दा भेनको डिक्कीमा उक्त बस्तु भेटिएको हो ।

एसपी पौडेलका अनुसार बरामद भएको बस्तु  कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली खुट्टाजस्तो देखिन्छ । कछुवाको हड्डीजस्तो वस्तु २८ पिस र वन्यजन्तुको नली खुट्टाजस्तो देखिने वस्तु १० पिस फेला परेको हो । तर उक्त वस्तु वन्यजन्तुको अंग हो कि हैनभन्ने यकिन हुन सकिरहेको छैन । पौडेलले यस विषयमा सम्बन्धित विज्ञलाई झिकाएर अनुसन्धान भइरहेको बताए । सशस्त्रले खानतलासी सुरु गरेपछि चालक भने भेन छाडेर फरार बनेको उहाँको भनाइ छ ।

उक्त मारुती भेन कसको होभन्ने बारेमा खुल्न सकिरहेको छैन । डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत परमेश्वर पासवानले बरामद भएको वस्तु वन्यजन्तुको अंग हो कि मान्छेको अंग हो भनेर छुट्याउन नसकिएको बताए । यसको यकिन गर्न फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाउनुपर्ने अवस्था आएको उनँको भनाइ छ ।