विराटनगर- लगभग ३८ क्वीन्टल सुन तस्करी एवम् मोरङ उर्लाबारीका सनम शाक्यको हत्या सम्बन्धी मुद्दाको फैसला जिल्ला अदालत मोरङले गर्दैछ । प्रतिवादी पक्षका कानुन व्यवसायी र वादी नेपाल सरकारतर्फका कानुन व्यवसायीको प्रतिरक्षा तथा प्रतिउत्तर बहस न्यायाधीश भरत लम्सालको इजलासमा सकिएको छ । अन्तिम सुनुवाइ सकिएकाले मुद्दा फैसलाको तयारी भइरहेको अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जङ्ग राणाले बताए । उनका अनुसार दसैंअघि मुद्दाको किनारा लगाउने तयारी भएअनुरप सम्भव भए आज, भोलि मुद्दाको फैसला हुने छ ।

दसैं बिदाका कारण बुधबारदेखि काम बन्द हुने भएकाले पनि अदालतले मुद्दा फैसलाको तयारी गरिरहेको हो । मुद्दामा मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई बनाइएको छ । गोरेसहित मुद्दामा ७७ प्रतिवादी छन् । प्रतिवादीमध्ये ५५ जना पक्राउ परे । २२ जना अझै फरार छन् । फरार रहेकाको हकमा मुद्दा मुल्तवीमा रहने राणाले बताए । गोरेको समूहले दुबईबाट तस्करी गरेर २०७४ साल माघ ९ गते साढे ३३ किलो सुन काठमाडौं ल्याएको खुलेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा  सुन गायब बनाएको आरोप लगाउँदै २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदा मोरङको उर्लाबारी नगरपालिका–१ का सनमको मृत्यु भएको थियो ।

सुन तस्करको भरिया रहेका सनमको हत्यामा गोरेको प्रत्यक्ष संलग्नता रहेको भिडियो पनि सार्वजनिक भएको थियो । हत्यापछि धरानको निर्वाणा कन्ट्री क्लबमा लगेर एक रात राखिएको सनमको शव भोलिपल्ट विराटनगरबाट बरामद गरिएको हो । शव राखिएको बा १२ च ५९६३ नम्बरको स्कोरपिओ र मे १ च ५३९८ नम्बरको कारसहित प्रहरीले त्यतिबेला गोरका चालक एवम् सहयोगीहरु मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गरेको थियो । हत्यापछि फरार बनेका गोरेलाई काठमाडौंबाट पक्राउ गरेर २०७५ साल जेठ ९ गते मोरङ अदालतमा उपस्थित गराइएको थियो । अदालतको आदेशबाट कारागार चलान भएका गोरे अहिले पनि थुनामै छन् । उनकै योजना र ‘सेटिङ’ तथा अरु व्यापारीको लगानीमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्वीन्टल सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लागेको हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी अधिकारीले तस्करले सुन भित्राउँदा सहयोग गरेको खुलेको छ ।

नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, तत्कालीन एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीहरु सञ्जयबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल, हवल्दार अम्बरबहादुर थापामगर, विष्णुबहादुर खड्का लगायतलाई मुद्दामा प्रतिवादी बनाइएको छ । जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो । सरकारी वकिल कार्यालय मोरङले दायर गरेको मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी छ । मुद्दाको अन्तिम सुनुवाइका क्रममा सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबू पोखरेलले बहस गरे।

उहाँहरुले दाबी बमोजिम प्रतिवादीहरुलाई कारबाही हुनुपर्ने माग गर्नु भएको थियो । प्रतिवादीका कानुन व्यवसायीले बहसका क्रममा तस्करी गरेको भनिएको सुन बरामद नै नभइकन हचुवाका भरमा मुद्दा चलाइएका कारण प्रतिवादीले सफाइ पाउनुपर्ने जिकिर गरेका थिए । सरकारले यस घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले गरेको छानबिन र प्रहरीको अनुसन्धानबाट गोरे मुख्य नाइके रहेर दुबईबाट नेपालतिर हुँदै आएको सुन तस्करीको ठूलो गिरोहका बारेमा खुलेको हो ।