काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि इन्टरनेटको तार काट्न बन्द गरेको छ । लामो समयदेखि पोल भाडाबापतको बक्यौता नतिरेको र तोकिएको समयमा पनि भाडा नवीकरण गर्न नआएको भन्दै प्राधिकरणले शनिबारदेखि इन्टरनेट तथा केबल टेलिभिजनको तार काट्न सुरु गरेको थियो । यसरी केबल काट्दा प्रयोगकर्ता मारमा परेको भन्दै अबदेखि नकाट्ने सहमति भएको हो ।

आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले अबदेखि तार नकाट्ने र पोल भाडासँग सम्बन्धित विषयलाई छलफलबाटै टुङ्गो लगाउने सहमति गरेको हो ।

“तार काट्नु गलत हो भन्ने विषयमा विद्युत् प्राधिकरण पनि सहमत भएपछि आइतबारदेखि यो काम बन्द गर्ने सहमति भएको छ,” बैठकमा सञ्चार तथा सूचना मन्त्रालयका तर्फबाट सहभागी उपसचिव अनुप नेपालले भने । 

उनका अनुसार विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणबीच दुवै पहिले तार नकाट्ने सहमति बनेको र त्यसपछि बाँकी रहेका विषयलाई क्रमशः समाधान गर्दै जाने टुङ्गो लागेको छ ।

विद्युत् प्राधिकरणले इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायकले लामो समयदेखि आफ्नो पोल प्रयोग गरे पनि त्यसबापत तोकिएको भाडा नबुझाएपछि चेतावनीस्वरूप शनिबार देशका विभिन्न ठाउँमा केवल काटेको थियो । यता सेवा प्रदायकरू भने नवीकरणका लागि तोकिएको नयाँ पोलभाडा अहिलेको तुलनामा सात गुणासम्म बढी भएको भन्दै सम्झौता नगर्ने अडानमा थिए ।