विराटनगर- विराटनगरमा बालिकामाथि बलात्कारको प्रयास गरिएको घटनामा संलग्न एक पुरुषलाई प्रहरीले घटना भएको तीन सातापछि पक्राउ गरेको छ । प्रहरीले विराटनगर महानगरपालिका–४ का ५० वर्षीय लभ कोइरालालाई आज बिहान पक्राउ गरेको हो । कोइरालाले छिमेकी ११ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कोइरालाले गत भदौ २२ गते दिउँसो बालिकामाथि जबरजस्तीको प्रयास गरेको खुलेको हो ।

बालिकालाई कोठाभित्र लगेर कोइरालाले जबरजस्ती कपडा खोल्न थालेपछि अर्की छिमेकी ५ वर्षीया बालिका त्यहाँ पुगेको पाइएको छ । ५ वर्षीया बालिका पुगेपछि ११ वर्षीया बालिका बलात्कृत हुनबाट जोगिएको पत्ता लागेको प्रहरीको भनाइ छ । घरमा अभिभावक कोही पनि नभएको र एक्लै रहेको मौकामा छिमेकी बालिकामाथि बलात्कारको प्रयास भएको डिएसपी श्रेष्ठले बताउनु भयो । उनका अनुसार घटना बाहिर नल्याउन विभिन्न धाक, धम्की दिएका कारण बालिका डराएकाले बलात्कार प्रयासको घटना तीन सातासम्म गुपचुप रहेको पाइएको हो ।

बालिकाले एकोहोरो भइरहने, बोल्न मन नगर्ने तथा परिवर्तित व्यवहार देखाउने गर्न थालेपछि अभिभावकले सोधीखोजी गर्दा बलात्कार प्रयासको घटना बाहिरिएको हो । सोधीखोजी हुन थालेपछि बालिकाले आफूमाथि छिमेकीले जबरजस्ती गर्न खोजेको बताइएकी थिइन् । त्यसलगत्तै बालिकाका अभिभावक र स्थानीयले नियन्त्रणमा लिएर कोइरालालाई प्रहरीको जिम्मा लगाएका छन् । कोइरालाले घटना स्वीकार नगरेको प्रहरीले जनाएको छ । डीएसपी श्रेष्ठका अनुसार बालिकामाथि बलात्कारको प्रयास गर्ने कोइरालाविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी गरिएको छ ।