विराटनगर- स्वचालित एवम् अत्याधुनिक हतियारधारी सङ्गठित समूहविरुद्ध जिल्ला अदालत मोरङमा दर्ता भएको मुद्दामा कानुन व्यवसायीबीचको थुनछेक बहस आइतबार हुँदैछ । हतियारका बलमा लुटपाट तथा आतङ्क मच्चाइरहेको माओवादीका पूर्वलडाकु र पूर्वनेपाली सेना सम्मिलित गिरोहका ७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा गत बुधबार मुद्दा दर्ता भएको थियो ।

न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा सबै जनाको बयान गत शुक्रबार सकिएको छ । बयान सकिए पनि समय अभावका कारण शुक्रबार र सार्वजनिक विदा भएकाले शनिबार हिजो थुनछेक बहस हुन सकेन । अदालतका सूचना अधिकारी राजेन्द्र धमलाका अनुसार वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच आईतबार थुनछेक बहस हुने छ । बहस सकिएपछि मुद्दामा इजलासबाट आदेश आउने धमलाले बताए । उनँका अनुसार प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा अर्थात साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश आउने छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकस्थित त्रिवेणी टोलमा खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा गत साउन १ गते दिउँसो लुटपाटको असफल प्रयास भएको थियो । थापाको शिव पञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास गरिएको हो ।

मोरङ प्रहरीले घटनामा संलग्नलाई साउन दोस्रो साताभित्रमा पक्राउ गरेर कारबाहीको दायरामा ल्याएको हो । प्रहरीले अनुसन्धान सक्दै मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पारेर सङ्गठित गिरोहविरुद्ध जिल्ला अदालत मोरङमा विभिन्न ४ वटा शीर्षकमा मुद्दा दर्ता गरेको छ । प्रतिवादीविरुद्ध हातहतियार खरखजना, डाँका उद्योग, ज्यान मार्ने उद्योग र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको हो । गिरोहमा सङ्खुवासभा घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, ३० वर्षीय चिरञ्जिवी राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी, ३३ वर्षीय आशिष चौधरी, मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २२ वर्षीय मिसन राई, सुन्दरहरैँचा–७ का ३१ वर्षीय सन्तोष राई र भोजपुर घर भइ तरहरामा बस्दै आएका ३० वर्षीय नगेन्द्र राई रहेका छन् ।

चन्द्रबहादुर नेपाली सेनाको शेरजङ्ग गणमा कार्यरत पूर्वजवान हुन् । उनैले हतियार ल्याउने, व्यवस्थापन गर्ने र लुकाउने कामको नेतृत्व गरेको पत्ता लागेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताउनु भयो । प्रमोद माओवादीका पूर्वलडाकु हुन् । व्यक्ति हत्यामा संलग्न उनी सुनसरीबाट चलाइएको कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरेर डेढ वर्षअघि मात्रै छुटेका थिए । अपराधिक गिरोहको नेतृत्व १ वर्षदेखि उनैले गरिरहेको अनुसन्धानबाट खुलेको एसपी जिसीको भनाइ छ । गिरोहबाट प्रहरीले एउटा एसएमजी, त्यसको म्याग्जीन, ६२ राउण्ड गोली, कटुवा र अटोमेटिक गरेर दुईवटा पेस्तोल, पेस्तोलको एउटा म्याग्जीन, पेस्तोलको २ र थ्री नट थ्री राइफलको ४ राउण्ड गोली, दुईवटा सञ्चार सेट र १६ हजार १ सय रूपैयाँ बरामद गरेको थियो ।

घटनामा प्रयोग गरिएको अत्याधुनिक हतियार एसएमजी भारतबाट खरिद गरेर ल्याएको खुलेको छ । भारतमा ३ लाख रूपैयाँमा खरिद गरी सप्तरीको बाटो हुँदै डेढ वर्षअघि नेपाल ल्याइएको अनुसन्धानबाट खुलेको एसपी जीसीको भनाइ छ ।