विराटनगर- मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको लगभग ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी बहुचर्चित मुद्दाको अन्तिम बहस आईतबार देखि सुरु हुँदैछ । उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दामा कानुन व्यवसायीबीचको बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको हो । यही असोज ७ गतेदेखि सुनुवाइका क्रममा रहेर हेदाहेर्दैमा राखिएको प्रस्तुत मुद्दामा कानुन व्यवसायीका तर्फबाट बहस सुरु हुने अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालले बताए।

फैसलाको चरणमा रहेको यो मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालको नेतृत्वमा सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले, सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेल लगायतले बहस गर्र्ने छन । सरकारी वकिललाई बहसका लागि दुई दिनको समय छुट्याइएको छ । प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले पनि बहस गरिसकेपछि मुद्दाको फैसला हुने मोरङ अदालतका सूचना अधिकारी धमालले बताए। मुद्दाको किनारा दसैंअगाडि नै लगाउने तयारी रहेको उनको भनाइ छ । पूर्पक्षको सिलसिलामा जिल्लाबाट उच्च हुँदै मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ ।

मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीको समूहले दुवईबाट २०७४ साल माघ ९ गते तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन काठमाडौं ल्याइपुर्याएपछि गायब बनाइएको थियो । अहिलेसम्म फेला नपरेको सुन गायब बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ का सनम शाक्यको मृत्यु भयो । हत्या गरिएको भोलिपल्ट फागुन १९ गते विराटनगरबाट प्रहरीले शव बरामद गरेको थियो । शाक्यको शव राखिएको बा १२ च ५९६३ नम्बरको स्कोरपिओ र मे १ च ५३९८ नम्बरको कारसहित प्रहरीले त्यतिबेला चालकहरु मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गर्यो । घटनापछि फरार बनेका गोरेलाई कठमाडौंबाट पक्राउ गरेर २०७५ साल जेठ ९ गते उपस्थित गराइएपछि मोरङ अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

मुद्दा चलाइएका उच्च प्रहरी अधिकारीमध्ये एसएसपी दिवेश लोहनीलाई भने प्रहरी अधिकारीकै योजना र स्वार्थमा फसाइएको आरोप लाग्दै आएको छ । शाक्य हत्या र सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति नै गठन गरेको थियो । गोरेको ‘सेटिङ’ र अरु व्यापारीको लगानीमा दुवईबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करीको सुन नेपाल भित्रदा विमानस्थलको सुरक्षार्थ खटिने प्रहरी अधिकारीले सहजीकरण गरिदिएको अनुसन्धानबाट खुलेको हो । सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ । मोरङ प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै ६३ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा पहिलो पटक मुद्दा दायर गरेको हो । अनुसन्धानका क्रममा तथ्य खुल्दै गए अनुसार तीन पटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका हुन् । ७७ जना अभियुक्तमध्ये अहिलेसम्म मुख्य अभियुक्त गोरेसहित ५५ जना मात्रै पक्राउ परेका छन् । २२ जना फरार नै रहेको र अदालती कारबाहीको प्रक्रियामा नआएको स्रोतले बतायो । फरार रहेकाको हकमा मुद्दा मुल्तवीमा रहने बताइएको छ ।