विराटनगर - केन्द्रमा नेकपा (एमाले)भित्र देखिएको उथलपुथलको प्रभाव प्रदेश १ मा परेको छ । एमालेबाट माधवकुमार नेपाल समूह अलग भएपछि प्रदेश १ को राजनीतिक माहोल गर्माएको हो । एमालेबाट अलग भएर नेकपा (एमाले समाजवादी)को नेतृत्व गर्न नेपाल पुगेपछि प्रदेश १ सरकारको भविष्यसँग जोडेर राजनैतिक चर्चा एवं परिचर्चा हुन थालेको छ ।

केन्द्रमै माहोल फेरिएपछि अब प्रदेशको राजनीति कसरीअगाडि बढ्छ भनेर चर्चा हुनु स्वभाविक भएको एमालेका एक नेताले बताए । यद्यपि केन्द्रमा माधवकुमार नेपाल अलग भएपछि सुविधाजनक बहुमतसहित एमालेबाट प्रदेश १ सरकारको नेतृत्व गरिरहनु भएका मुख्यमन्त्री शेरधन राई अप्ठेरोमा भने पर्नु भएको छ । ‘समस्या टर्ला या सरकार झन् संकटमा पर्लाभन्ने विषयको चर्चा अहिलेको मुख्य केन्द्रविन्दुमा छ,’ स्रोतले भन्यो, ‘पछिल्लो राजनैतिक परिस्थिति हेर्दा अहिलेकै सरकार यथावत रहने सम्भावना एकदमै न्यून छ ।’

एमालेको संस्थापन एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर मुख्यमन्त्री राईले राजीनामा दिने हल्ला कतिपयले चलाएका छन् । केन्द्रमा एमाले दुई चिरा हुँदा कांग्रेस, माओवादी केन्द्र र एमाले समाजवादीसमेत मिलेर नयाँ गठबन्धन सरकार निर्माणको गृहकार्य भने थालिएको नेताहरुले बताए । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले भने पार्टी एकताका लागि आफू र मुख्यमन्त्री पद त्याग गर्न तयार रहेको बताए । मुख्यमन्त्रीको सचिवालयले भने राजीनामाको हल्ला निराधार भएको स्पष्ट पारेको छ । मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले विरोधी तत्वले हल्ला चलाएर सरकारलाई कमजोर बनाउन खोजेको बताए ।

राजीनामाका लागि मुख्यमन्त्रीको कुनै तयारी नरहेको स्पष्ट पार्दै उनले हल्लाका पछि नलाग्न सबैमा अनुरोध गरे । प्रदेशमा एमालेका १५ सांसद एमालेबाट समाजवादीतिर गएको बताइएको छ । एमाले समाजवादीका नेता एवं प्रदेश सांसद राजेन्द्र राईले अहिलेको सरकार ढालेर गठबन्धनबाट नयाँ सरकार बन्ने बताए । ‘अहिलेको सरकार अब धेरै रहँदैन,’ उनले भने  ‘केही समय लागे पनि ढालेर नयाँ गठबन्धन सरकार बनाउँछौ ।’ एमाले समाजवादीले मुख्यमन्त्री पाउँदा आफ्नै सम्भावना बलिरहेको रहेको राईको भनाइ छ । यसअघि नयाँ मुख्यमन्त्रीका लागि भीम आचार्यको नाम चर्चामा थियो । नेपालको साथ छाडेर त्यो अवसर गुमाएका उनि अहिले एमाले संस्थापन पक्षमा रहेको स्रोतले बतायो ।

प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्यमध्ये एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका  १–१ जना सांसद छन् । माओवादी केन्द्रले तत्कालीन संसदीय दलका नेता टंक आङ्बुहाङलाई कारबाही गरिसकेकाले प्रदेशमा हाल ९२ जना सांसद छन् । प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ । प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले समाजवादीका कम्तीमा ८ सांसदको साथ पर्याप्त हुने बताइएको छ ।