विराटनगर-दोश्रो पदभार ग्रहण गर्दै नेपाल विद्युत प्राधिकरणका नवनियुक्ती प्रवन्ध निर्देशक कुलमान घिसिङले १५ हजार कर्मचारीको सहयोगले नै पहिलो कार्यकालमा उल्लेखिय सफलता हासिल गरेको र दोश्रो कार्यकालमा पनि सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताएका छन । 

बुधबार नियुक्ती लिएसंगै नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्क पुगेर उनले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका हुन् ।

ओली सरकारले नियुक्ती गरेका निवर्तमान प्रबन्ध निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा चार वर्षका लागि जिम्मेवारी दिइएको छ । शाक्यले छोडेर गएकै ठाउँबाट आफूले काम अघि बढाउने घिसिङले बताए । आफ्नो दोस्रो कार्यकाल निकै चुनौतीपूणर् हुने भन्दै सरकार र सर्वसाधारणको विश्वास कै कारण जीवनकै सबैभन्दा ठूलो चुनौती लिएको प्रतिक्रिया दिएका छन् ।

स्वागत कार्यक्रममा बोल्दै प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले पहिलोपटक एमडी हुँदा स्वागत र बिदाइ आफैंले गरेको स्मरण गर्दै दोस्रो कार्यकालमा पनि स्वागत गर्न पाएको बताए । तामाकोसी निर्माण भएपनि रसुवागढी, साञ्जेनलगायतका आयोजना छिटो सकेर प्रसारण लाइन बनाउनु पर्ने चुनौती रहेको कोइरालाले बताए । चुहावट बढ्दै गएको अवस्थामा एक प्रतिशत चुहावट घटाउन सके पनि २०/३० मेगावाट क्षमताको आयोजना तुरुन्तै बनाए सरह हुने उनको भनाइ छ। 

तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । त्यतिबेला देश १८ घण्टासम्मको लोडसेडिङको कहरमा थियो । मानिसहरु विकल्पको खोजीमा थिए । लामो खडेरीमा वर्षा भए जस्तै नियुक्ति भएको दुई महिना पनि नबित्दै कुलमानले काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाएका थिए ।