विराटनगर– प्रदेश १ सरकारले कोरोना संक्रमणको तेश्रो लहरको पुर्वतयारी शुरु गरेको छ । विज्ञहरूले कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएपछि प्रदेश सरकारले ठूला सरकारी अस्पतालमै बालबालिकाका लागि एनआइसियु र पिआईसीयूलगायतको पूर्वाधार व्यवस्थापनको तयारी शुरु गरिएको जनाएको छ ।
प्रदेश १ मा अहिले सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र कोरोना पोजेटिभ भएका बालबालिकाको उपचार हुने गरेको छ । प्रतिष्ठानमा पनि दुई शैयाको मात्र पीआईसीयू छ । पीआईसीयू सधैँ बिरामी बालबालिकाले भरिने गरेको थियो । तर पछिल्ला दुई दिन यता बालबालिकाका लागि छुट्याइएका पीआईसीसी बेड खाली रहेको प्रतिष्ठानका सहप्रवक्ता डा चूरामणि पोखरेलले बताए । पोखरेलका अनुसार सरकारले भनेअनुसार प्रतिष्ठानमा पनि थप १५ शैयाको पिआईसियु थप्ने कामका लागि टेण्डर आह्वान गरिएको छ ।
वीपी बाहेक विराटनगरमा रहेको कोशी, झापाको मेची प्रादेशिक अस्पतालमा समेत कोरोना संक्रमित बालबालिकाको उपचार गर्न छुट्टै भेन्टिलेटर र आईसीयूको व्यवस्था छैन । विराटनगरका नोवेल र विराटसहित झापाको बिएण्डसीमा पनि कोरोना पोजेटिभ भएका बालबालिकाको उपचारका लागि पिआइसियुको सेवा अभाव छ । प्रादेशिक अस्पताल मेचीले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि पहिलो चरणमा पाँच शैयाको पीआईसीयू सञ्चालनको तयारी थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा टंकप्रसाद बार्हकोटीले बताए । कोरोना संक्रमित बालबालिकाको उपचारमा लक्षित गरी विराटनगरमा रहेको कोशी अस्पतालमा पनि १० बेडको पिआइसियु बनाउने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए ।
प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईंले सरकारले तोकेअनुरुप कोरोना संक्रमित बालबालिकाको उपचारका लागि अस्पतालहरुमा छुट्टै पीआईसीयू सञ्चालनका लागि तयारी भइरहेको बताए ।
प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेश्रो लहरको पुर्व तयारीमा जुट्न १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरु, सदरमुकामका पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई निर्देशन दिईसकिएको बताईन । प्रदेश सरकारले पनि तेश्रो लहरको संक्रमण नियन्त्रणका लागि तयारी गरिरहेको उनले बताईन । विज्ञहरुले कोरोनाको तेश्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकाले सोही अनुसारको तयारीमा जुट्न निर्देशन दिईएको उनले बताईन ।
प्रदेश १ मा साउन १४ गते सम्म ९ हजार ११६ बालबालिकालाई कोरोना संक्रमण भएको छ । संक्रमण भएका मध्ये २१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले बताईन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ २१ गते विज्ञप्ति जारी गर्दै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई २० प्रतिशत शैया बालबालिकाका लागि छुट्याउन निर्देशन दिएको थियो ।