विराटनगर– कोभिड १९ विरुद्धको खोप अभियान पछिल्लो समय दैनिक जसो चलिरहेको छ । खोपमा सामान्य स्वास्थ्य मापदण्ड पनि अपनाईएको देखिदैन । स्वास्थ्य मापदण्ड नअपनाउँदा कोरोनाको संक्रमण बढ्ने जोखिम झनै बढेको छ । विराटनगर महानगरपालिकामा दैनिक कोरोना संक्रमण बढीरहेको समयमा खोप लगाउने क्रममा ख्याल–ख्याल गर्दा जोखिम बढ्ने चुनौति थपिएको छ । कोभिड १९ विरुद्धको खोपका लागि घण्टौ सम्म लाईनमा बस्ने गरेको र लाइनमा बस्दा सामान्य स्वास्थ्य मापदण्ड अपनाएको देखिदैन ।

विराटनगरको वीरेन्द्रसभा गृहमा महिला र पुरूषलाई छुट्टाछुट्टै लाइन लगाएर खोप स्थलमा पुर्याउने व्यवस्था गरिएपनि बच्चाका आमाहरू, शिक्षक, कर्मचारीलगायतलाई छुट्टै व्यवस्था नगरिदा भीँडभाड बढेको र भौतिक दूरीसमेत कायम हुन नसकेको भनाइ खोप लगाउन लाईनमा बसेका इन्द्र घिमिरेको छ । खोप स्थलमा आवश्यक मात्रामा खोप कर्मचारी र खोप लगाएका व्यक्तिहरूको रेकर्ड प्रणाली सुस्त गतिमा हुँदा धेरैले दुख पाएको खोप लगाउन लाइनमा बसेकी विराटनगर महानगरपालिका–५ की ४० वर्षीया राधिका पराज्लीले बताईन ।


नेपाल सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप प्रदेश १ मा आएपछि खोप अभियान थालिएको छ । प्रदेश १ का लागि सरकारले १ लाख ६९ हजार डोज भेरोसेल र ४८ हजार भायल (२ लाख ४० हजार डोज) जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश सरकारलाई प्राप्त भएको सबै खोप साउन ९ गतेदेखि नै जिल्लाहरूमा वितरण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट साउन ९ गते प्राप्त भएको खोप जिल्लाहरूमा वितरण गरीसकेपछि साउन ११ गतेबाट खोप अभियान थालिएको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहको भनाइ छ ।यसैबिच खोप लगाउन घण्टौ सम्म बस्नु परेको विराटनगर महानगरपालिका–५ की ३३ वर्षीया प्रतिमा श्रेष्ठले बताइृन । बुधबार वीरेन्द्र सभागृहमा कोभिड–१९ विरूद्धको भेरोसेल खोप लगाउन उनि पुगिन । सात महिनाको नानीलाई लिएर खोप केन्द्रमा बिहान ७ बजे पुगेकी श्रेष्ठले अपरान्ह १२ बजेसम्म लाइन छिचोल्न सकिनन् ।

उनीसँगै ९ महिने नानीसहित विराटनगर महानगरपालिका–५ कै ३५ वर्षीया प्रमिला श्रेष्ठ पनि कोभिड–१९ विरूद्धको खोप लगाउन विराटनगर महानगरपालिकाले तोकेको खोप केन्द्र बिहान ७ बजे नै पुगेकी थिईन । अपरान्ह्सम्म पालो आउने छाँटकाँट थिएन । खोपका लागि व्यवस्थापन राम्रो नभएको उनको भनाई छ । विराटनगर महानगरपालिकाले वीरेन्द्रसभा गृहमा कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान सञ्चालन गरेको छ । महानगरपालिकाले अग्रपंतीमा कार्यरत शिक्षक, कर्मचारी, प्रहरी, यस अघि खोप लगाउन छुटेका व्यक्तिहरू, सञ्चारकर्मी, सार्वजनिक सवारीका चालकहरू, सहचालकहरू र सबै नागरिकलाई खोप लगाउन सार्वजनिक सूचना गरेपछि वीरेन्द्रसभा गृहमा खोप केन्द्र निर्धारण गरिएको थियो ।


खै मापदण्ड ?
खोप लगाउँदा पनि मापदण्ड नअपनाईएको पाईएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक स्वास्थ्यकर्मीले एक दिनमा १२५ भन्दा बढीलाई खोप लगाउन मिल्दैन ।  तर, विराटनगरमा एक स्वास्थ्यकर्मीले मापदण्ड भन्दा बाहिर गएर खोप लगाएका छन् । स्वास्थ्यकर्मीको अभावका कारण मापदण्ड अपनाउन समस्या भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की बताउँछन् । उनले भने,‘ एक स्वास्थ्यकर्मीलाई १२५ जना भन्दा बढीलाई नलगाउनु भनिएको छ ।’ बुधबार वीरेन्द्र सभागृह खोप केन्द्रमा खोप लगाउने एक स्वास्थ्यकर्मीका अनुसार मापदण्ड अनुसार  संभव नभएको बताए । उनले आफुले नै २ सय भन्दा बढीलाई खोप लगाएको बताए ।