विराटनगर-उद्योग संगठन मोरङले नयाँ व्यवसायी र उद्योगी जन्माउन टार्टअप एण्ड इनोभेशन कार्यक्रमको शुभारम्भ गरेको छ । यसले पहिलो चरणमा २० जना यूवाको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्ने छ । व्यवसाय र उद्यम गर्न चाहने यूवाहरुलाई सबैखाले सहयोग उद्योग संगठनले उपलब्ध गराउने छ । 

कार्यक्रमको शुभारम्भ गर्दै संगठनका अध्यक्ष सुयश प्याकुरेलले युवाहरुको नविनतम सोच र अवधारणालाई व्यवसायमा परिणत गर्दै व्यवसायीक क्षेत्रको ईको सिस्टम विकास गर्ने अभिप्रायका साथ संगठनले महत्वकांक्षी योजनाका रुपमा स्र्टाटअप तथा ईनोभेशन कार्यक्रमलाई प्रारम्भ गरेको वताए । संचालनमा रहेका उद्योग व्यवसाय प्रवद्र्धनका साथै नयाँ उद्यमीको विकास गर्नुपर्ने सामाजिक उत्तरदायित्व समेत संगठनको रहेको वताउदै यस कार्यक्रमलाई सफल वनाउन सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । 

कार्यक्रमका सम्वन्धमा थप प्रकाश पार्दै स्र्टाटअप एण्ड इनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले अठार महिना अवधी रहने कार्यक्रममा प्रदेश नं १ भित्रका नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका बढिमा (२ बर्ष अघि देखि सञ्चालनमा रहेका) शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागि हुन सक्ने बताए । 

कार्यक्रमले नविन व्यवसायीक अवधारणा, स्तरोन्नती तथा अनुशरण गर्ने सम्भावना भएका, चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, स्थानीय कच्चा पदार्थमा अधारित र कृषि तथा कृषिजन्य व्यवसायको श्रृङ्खला भित्र पर्ने उद्यम व्यवसायलाई बिशेष ग्राह्यता दिईने गरि प्राथमिकता निर्धारण जानकारी गराए ।  

नमुना कार्यक्रमका रुपमा कार्यान्वयन गरिन लागेको यो कार्यक्रममा पहिलो चरणमा २० वटा स्टार्टअप व्यवसायको छनौट गरि निःशुल्क सेवा उपलब्ध गराइने छ । कार्यक्रम अन्तरगत छनौट भएका स्टार्टअप व्यवसायहरुलाई व्यवसायीक योजना तर्जुमा, वित्तिय व्यवस्थापन, व्यवसाय दर्ता, कानूनी परामर्श, प्रशासनिक परामर्श, वजार व्यवस्थापन तथा ब्राण्डिङ, लेखा व्यवस्थापन, कर प्रशासन, मानव संसाधन तथा जिन्सी व्यवस्थापन लगायतका व्यवस्थापकिय बिषयहरुका बारेमा तालिम दिइने छ । 

व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक बिषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, उद्योगी व्यवसायी, लगानीकर्ता र वितरकहरुसंग नेटवर्क तथा सञ्जालीकरण, वित्तिय पहुँचका लागी लगानीकर्ता, बैंक तथा वित्तिय संस्थाहरुसंग समन्वय एवं सहजिकरण र बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी बिषयमा परामर्श सेवा उपलब्ध गराइने छ । 

यसका अलावा, छनौट भएका स्टार्टअपहरुको व्यवसायको प्रकृति अनुसार अनुसन्धान तथा प्रयोगशाला परिक्षणका लागी विश्वविद्यालय, प्राविधिक शिक्षालय, सरकारी वा गैर सरकारी क्षेत्र, तथा नीजि क्षेत्रका प्रयोगशाला, अनुसन्धानशाला वा परिक्षण केन्द्रहरुसंग समन्वय गरि सेवा उपलब्धताका लागी सहजिकरण गरिने छ । 


यसका लागी पूर्वाञ्चल विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालय, काठमाडौ विश्वविद्यालय, क्षेत्रिय कृषि अनुसन्धान केन्द्र, राष्ट्रिय आविश्कार केन्द्र, अन्तरप्रेरणा प्रा.ली लगायतका संस्थाहरुसंग सहकार्य गरिएको छ भने बैंक तथा बित्तिय संस्थाहरुबाट नबिल बैंक लिमिटेडसंग साझेदारी गरिएको छ । नबिल बैंक लिमिटेडले हालै शुरुवात गरेको दिगो बैंकिङ (सस्टेनेवल बैंकीङ) कार्यक्रमका माध्यमबाट स्टार्टअपव्यवसाय उद्यमीहरुलाई कर्जा प्रवाहमा मद्दत गर्ने छ । 

स्टार्टअप व्यवसायको प्रवर्धन र विकासका लागी सरकार, अनुसन्धानमुलक संस्थाहरु एवं नीजि क्षेत्र बिच समन्वय गरि प्रदेश नं १ को नमुनाको रुपमा व्यवसाय विकासका व्यवस्थापकिय एवं प्राविधिक सेवाहरुको दिगो इकोशिष्टमको जग बसाल्ने लक्ष्यका साथ शुरुवात गरिएको यो कार्यक्रमको कार्यान्वयनका लागी प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, स्थानीय सरकार बिराटनगर महानगरपालिकासंग सहकार्यको प्रकृयाअघि बढेको छ । कार्यक्रमको तयारीका क्रममा विभिन्न सरोकारवाला पक्षहरु, साझेदार संस्थाहरु, मेन्टर तथा परामर्शदाताहरु, बैंक तथा बित्तिय क्षेत्र एवं प्रदेश र स्थानीय सरकारसंग प्रारम्भिक परामर्श बैठकहरु आयोजना भै सकेको छ । 

३२ श्रावण २०७८ सम्म आवेदन गर्न सक्ने गरि अनलाईन आवेदन बिहिबारबाट प्रारम्भ गरिएको छ । कार्यक्रम सम्बन्धी बिष्तृत जानकारी आवेदन फारमको नमुना तथा अनलाइन आवेदन फारम संगठनको वेवासाइटमा सहज उपलब्ध हुने गरि व्यवस्था मिलाइएको छ । साथै, सम्भावित आवेदनकर्ताहरुका लागी आवेदनमा सहजीकरण गर्न पूर्व आवेदन छलफल कार्यक्रमहरुको समेत आयोजना गरिने छ । संगठनको वेवसाईट तथा फेसबुक पेज मार्फत कार्यक्रम सम्बन्धी सूचनाहरु नियमितरुपमा प्रचार प्रसार गरिने छ ।