विराटनगर–भारतले १ बर्षपछि नेपालबाट हुने पाम आयलको पैठारी छ महिनाको लागि खुला गरेको छ । गत बर्षको मे महिनाको पहिलो साताबाट भारतले नेपालबाट हुने पाम आयलको निकासीको कोटा दिइएका लाइसेन्स खारेज गरेर निकासी रोकेको थियो । अहिले भारतमा खाने तेलको मूल्यमा बृद्धि भएपछि भारत सरकारले पाम तेलको आयातका लागि नेपाल लगायतका अन्य मुलुकलाई समेत अनुमति दिएको छ । 


भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले बुधबार सुचना प्रकाशित गर्दै पाम तेलको आयात छ महिनाको लागि खुला गरेको हो । उद्योग संगठन मोरङका कोषाध्यक्ष तथा क्वालिटी रिफाइनरीका संचालक विपिन कावराले बुधबारदेखी भारतले नेपाल लगायत विश्वका जुन सकै मुलुकले पनि भारत तयारी पाम आयल निर्यात गर्न पाउने गरि सुचना जारी गरेको बताए । 


नेपाली उद्योगहरुले भने भारत निकासीका लागि कम्तिमा १५ दिनको समय लाग्ने उनले खुलाए । गत बर्ष स्टकमा रहेकाहरुले भने तत्काल पठाएपनि स्टक नभएका उद्योगले मलेसिया र इन्डोनेसियाबाट क्रुड पाम आयात गरि प्रशोधन गरेर भारत पठाउने र त्यसका लागि १५ दिन समय लाग्ने कावराले खुलाए । उनका अनुसार पामको निकासी खुला भएपछि यसले उद्योगीहरुमा नयाँ संचार गएको छ भने ब्यापार घाटा कम गराउन बार्षिक २५ अर्बको योगदान दिने छ । 


नेपालबाट बार्षिक २५ अर्ब रुपैया बराबरको प्रसोधित पाम आयल निकासी हुदै आएको थियो । यसले भारतसंगको ब्यापार घाटा कम गर्न निकै योगदान गर्दै आएको थियो । विराटनगर नाकाबाट मात्रै गत बर्षको १० महिनामा ६ अर्ब ७५ करोडको पाम आयल निकासी भएको थियो । 


पामको निकासी बन्द हुदा नेपालका उद्योगहरुमा ५ अर्ब रुपैया बराबरको पाम आयल स्टक रहेको थियो । १७ उद्योगमा ६० हजार टन पाम स्टाकमा रहेको उद्योग संगठन मोर»का बरिष्ठ उपाध्यक्ष तथा राम रिफाइनका संचालक प्रदीप मुुरारकाले बताए । स्थानिय बजारमा पठाएर बाकी रहेको पाम अहिले पनि कतिपय उद्योगहरुमा थोरैमात्रामा स्टकमा रहेको उनले बताए । विस्कुट र चाउचाउ उद्योगहरुले पाम आयलको बढी खपत गर्छन । 



गत बर्षको १० महिनामा  ६ अर्ब ७५ करोड ८४ लाख ५६ हजार बराबरको ६४ हजार १ सय २१ मेट्रिक टन तयारी पाम आयल भारत निकासी भएको थियो । यो अवधिमा क्रुड पामको आयात र तयारी तेलको निर्यातबाट विराटनगर भन्सार कार्यालयले ६० करोड ९१ लाख १५ हजारको राजश्व संकलन गरेको थियो ।  


यस अघि गत २०७७ पुस २२ गतेबाट ४४ दिन तयारी पाम आयलको निकासी रोकीएको थियो । फागुन ९ गतेबाट विराटनगर भन्सारबाट पुनः निकासी सुरु भएको थियो । फागुनदेखी बैशाख सम्मको तीन महिनाको अवधिमा एक अर्ब २२ करोड मूल्य बराबरको क्रुड पाम आयल आयात भएको थियो भने एक अर्ब ४३ करोड ७७ लाख बराबरको तयारी पाम आयलको निकासी भएको थियो । तीन महिनामा १४ करोड १९ लाख बराबरको राजश्व संकलन भएको थियो ।  


साप्टा सुविधा अन्तरगत नेपाल र बंगालदेशबाट तयारी पाम आयल भारत निकासी हुदै आएकोमा गत बर्ष डिजीएफटीले जारी गरेको परिपत्रमा पाम तेल आयतका लागि दिइएका ३९ वटा लाइसेन्स र लाइसेन्सका लागि परेका २३ वटा निवेदन खारेज गरेपछि पामको निकासी रोकिएको थियो । 


प्रदेश १ बाट केएल दुगड समूहले स्वस्तिक आयल इन्डस्ट्रिज, मुन्दडा ग्रुपको बाबा भेजिटेबल, मुरारका समूहको श्रीराम रिफाइनरी, घनश्याम काबराको क्वालिटी रिफाइनरी र शारडा राठी समूहको पशुपति खाद्यतेल उद्योगले पाम तेलको निकासी गरिरहेका थिए ।